चितवन, २२ साउन । भरतपुर महानगरका निर्वाचित जनप्रतिनिधिको सपथग्रहण कार्यक्रम नेकपा एमालेले बहिस्कार गरेको छ। आइतबार दिउँसो चितवन जिल्ला समन्वय परिषदको हलमा भै रहेको सपथग्रहण कार्यक्रममा एमालेका तर्फबाट निर्वाचित प्रतिनिधिरुले भाग लिएका छैनन्।
एमाले चितवनले मतपत्र च्यात्नेसँग सँगै सपथ लिनु भनेको लोकतन्त्रको खिल्ली उडाउनु हो भन्दै सपथ ग्रहण कार्यक्रममा सहभागी नभएको जनाएको छ। एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेलले आफूहरुले छुट्टै सपथग्रहण गर्ने बताएका छन्।
भरतपुरमा गत वैशाखमै निर्वाचन सम्पन्न भए पनि १९ नम्बर वडाको मतपत्र च्यातिएपछि अन्य वडाका विजयीहरुले समेत सपथ लिन पाएकाका थिएनन्। १९ नम्बर वडामा यही साउन २० गते निर्वाचन भइ शनिबार मतगणना समेत सम्पन्न भएपछि निर्वाचित पदाधिकारीहरुलाई आज सपथग्रहण गराउन लागिएको हो।
भरतपुर महानगरको मेयरमा कांग्रेस माओवादी गठबन्धनका तर्फबाट मेयरमा माओवादीकी रेणु दाहाल र उपमेयरमा कांग्रेसकी पार्वती शाह विजयी भएका छन्।
२९ वडा रहेको महानगरका १४ वडामा एमाले, १२ मा कांग्रेस र ३ वडामा माओवादी केन्द्र विजयी भएका छन्। वडा नम्बर ४ र ७ का अध्यक्षले भने विवादका कारण सपथ लिन नपाउने भएका छन्।
Comments