काठमाडौं, २२ साउन । करिब ९ महिना अगाडि मात्रै एकता भएको राष्ट्रिय प्रजातन्त्र पार्टी फुटेको छ । राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच एकता भएर बनेको पार्टी यो फुट सँगै तीन टुक्रा भएको हो । यसअघि नै कमल थापा राष्ट्रिय महाधिवेशनपछि अध्यक्ष चुनिएपछि असन्तुष्ट भएका नेता प्रकाशचन्द्र लोहनीले हलो चिन्ह लिएर पार्टी दर्ता गरिसकेका छन् ।
आइतबार पशुपती शम्शेर राणाले निर्वाचन आयोगमा दल दर्ताका लागि निदेवन दिएका हुन् । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार शम्शेरको नेतृत्वमा राप्रपा प्रजातान्त्रिक नामको दल दर्ताका लागि निवेदन परेको हो ।
यसैबीच, कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी ४० प्रतिशतभन्दा बढी सांसदसहित फुटेको छ । निर्वाचन आयोग स्रोतका अनुसार पशुपति शम्शेर राणाको नेतृत्वमा यसअघिका मन्त्री तथा पुरानो राप्रपाका नेताहरु सुनिलबहादुर थापा बिक्रम पाण्डे, दिपक बोहोरा लगायत ४० प्रतिशत भन्दा बढी सांसदको हस्ताक्षरसहित आयोगमा पुगेको हो ।
निर्वाचन आयोग स्रोतकाअनुसार सांसद आउँदै गरेको र अझै थपिने नयाँ पार्टी दर्तागर्न आएका नेताहरुले बताएका छन् । “४० प्रतिशत सांसदको हस्ताक्षर आइसकेको छ । अझै उहाँहरु आउँदै गरेको बताउनुभएको छ । संख्या यकिन भइसकेको छैन,” स्रोतले बतयो । यता राप्रपा अध्यक्ष कमल थापाले भने एकता नभएको ६ महिना नपुग्दै पार्टी फुट्नु दुर्भाग्य भन्दै अधिकांस सांसदको हस्ताक्षर नक्कली भएको ट्विटरमार्फत दाबी गरेका छन् ।
राजनीतिक दल दर्ता सम्बन्धि ऐनअनुसार पार्टी विभाजन हुँदा संसदमा प्रतिनिधित्व कायम राख्न ४० प्रतिशत आफूसँग हुनुपर्ने व्यवस्था छ । त्यस्तै, राप्रपाका १९ जना सांसद्हरुले नयाँ दल गठनको प्रक्रिया अघि बढाएको जानकारी संसद् सचिवालयमा गराएका छन् । सभामुखका प्रेस सल्लाहकार वविन शर्माले १९ जना सांसद्सहित नयाँ दल दर्ता प्रक्रिया अघि बढाइएको बारेमा सचिवालयमा जानकारी गराएको बताए । दिपक बोहोरा, विक्रम पाण्डे, रेशम लामा, सुनिल थापा लगायत १९ सांसद् रहेको सचिवालय स्रोतले जानकारी दियो ।
Comments