राजनीति

बादल गर्जिए- 'माओवादी बनाउने कि सिद्धयाउने ?'

पोखरा, २२ साउन । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता राम बहादुर थापा ‘बादल’ले पार्टीलाई क्रान्तिकरण गर्नुपर्नेमा जोड दिएका छन् । प्रदेश नं. ४ को भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै नेता बादलले जनताले माओवादीलाई नै वैकल्पिक राजनीतिक धारका रुपमा खोजेकोले सोही अनुरुप क्रान्तिकारी संगठनको आवश्यकतामा जोड दिएका हुन ।
जनताले क्रान्तिकारी माओवादी खोजेको बताउँदै बादलले भने, “हामी क्रान्तिकारी नभएको दण्ड अहिले उनीहरुले दिएका छन् । अब हाम्रा संगठनहरुलाई क्रान्तिकारी जनसंगठनका रुपमा विकास गर्न आवश्यक छ। संगठन बिनाको पार्टी र विचारले लक्ष्य प्राप्त गर्न सकिन्न ।”
पार्टीका कतिपय कमजोरी भएपनि मुख्यरुपमा क्रान्तिकारी संगठन, व्यापक जनसंगठन र क्रान्तिकारी पार्टी निर्माण नै अहिलेको मूल कार्यभार हुनुपर्नेमा थापाको विशेष जोड थियो । संगठन ठूलो भएर मात्र नहुने भन्दै बादलले भने, “संगठन लक्ष्यप्रति प्रतिवद्द, अनुशासित र संकल्प एकतामा आधारित नभएसम्म आकारले अर्थ राख्दैन ।”