काठमाडौं, २२ साउन । सभामुख ओनसरी घर्ती मगरले प्रमुख प्रतिपक्षी दलले उठाएका विविध विषयका बारेमा सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेकी छिन् । नेकपा एमालेका सांसदहरुले आईतबारको बैठकमा रौतहटमा सडक निर्माणका क्रममा खनिएको खाल्डोमा डुबेर ४ जना बालिकाको मृत्यु भएको घटना बारे सरकारले सदनलाई यथार्थ विवरण जानकारी दिनुपर्ने माग गरेपछि सभामुखले सरकारका नाममा रुलिङ गरेकी हुन् ।
२ महिनाको अवधिमा ११ जना बालकालिकाको सडकमा खनिएको खाल्डोमा परेर मृत्यु भईसक्दा पनि सरकारले जवाफ दिन चासो नदेखाएको, रौतहट घटनामा मृतकका आफन्तलाई उपलब्ध गराउने राहत, ठेकदारलाई गरिने कारवाहीको प्रक्रिया लगायत आफुहरुले समय समयमा उठाउदै आएका सवालमा सरकारले सदनमा उपस्थित भएर जवाफ नदिए सम्म सदन चल्न नदिने भन्दै एमालेका सांसदहरु उठेर विरोध जनाएपछि सभामुखले त्यसबारेको जवाफ आगामी बैठकमा गराउन सरकारलाई रुलिङ गरेकी हुन् ।
त्यस अघि बैठकको सुरुमा समय मागेर बोल्दै एमाले प्रमुख सचेतक भानुभक्त ढकालले रौतहटमा डिभिजन सडक कार्यालयका ठेकेदारले सडक बनाउने क्रममा खनेको खाल्डोमा परेर ४ जना बालिका डुबेपछि सोको खबर पाएपनि ५ सय मिटर पर रहेको प्रहरी चौकीबाट तत्काल उद्धारको प्रयास नगरिएका कारण उनीहरुको मृत्यु भएको भन्ने खबर आएको भन्दै त्यसबारे सरकारको जवाफ माग गरेका थिए ।
सभामुखको रुलिङपछि सुरु भएको आईतबारको व्यवस्थापिका संसद बैठकमा बोल्ने अधिकांश सांसदहरुले रौतहट घटना, डाक्टर गोविन्द केसीको अनसन तथा राजधानीमा फेला परेको स्वायनफ्लु बारे सरकारको ध्यानाकर्षण गराएका थिए ।
Comments