राजनीति

भरतपुर–१९ मा मतदान शुरु, कस्ले बाजी मार्ला ?

चितवन, २० साउन । स्थानीय तहको पहिलो चरणमै बैशाख ३१ गते भएको निर्वाचनको मतगणनाका क्रममा भएको लफडाले रोकिएको भरतपुर महानगरपालिकाको वडा नंं १९ मा आज मतदान शुरु भएको छ । बिहान ७ बजेबाट मतदान शुरु भएको हो । चितवनमा पानी परिरहेको भए पनि मतदानस्थलमा विहानैदेनि मतदाता पुगेका छन् । ६ वटा मतदान केन्द्रबाट मतदाताले मतदान गरिहेका छन् । बैशाख ३१ गते भएको निर्वाचनमा भरतपुर महानगरमा एक लाख १२ हजार ७४१ मत खसेको थियो । वडा नम्बर १९ बाहेक वडा नम्बर २० को ३ हजार ३०२ मत पनि गणना गर्न बाँकी नै छ ।

भरतपुर महानगर वडा नम्बर १९ को मतगणना भइरहँदा जेठ १४ गते राती मतपत्र च्यातिएको थियो । मतपत्र च्यातिएपछि भएको विवाद अन्ततः सर्वोच्च अदालतबाट फैसला भएपछि शुक्रबार सो वडामा पुनः मतदान शुरु हुन लागेको हो ।  दोस्रो चरणमा भएको असार १४ गतेको स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुलेसमेत स्थानीय तहको पदभार सम्हालिसक्दा भरतपुर महानगरपालिकाले जनप्रतिनिधि अझै पाएको छैन । 

दुई महिना भन्दा बढी समयको अन्यौलतापछि मेयरका नेपाली कांग्रेस र माओवादी गठबन्धनकी उम्मेदवार रेणु दाहाल र एमालेका उम्मेदवार देवी ज्ञवाली केही दिनअघिसम्म काठमाडौंमा थिए । अन्ततः सर्वोच्चको फैसलापछि पुनः मतदानका लागि दुवै उम्मेदवार अहिले भरतपुरमा वडा नम्बर १९ का मतदाताका बीचमा छन् । 

३ हजार ७ सय ९७ जना मतदाता रहेको भरतपुर महानगरको वडा नम्बर १९ मा बैशाख ३१ गतेको निर्वाचनमा २ हजार ८ सय ९७ मत खसेको थियो । जसमध्ये एक हजार ८ सय नौ मत गणना गरिसकिएको थियो । बाँकी मतगणना गर्ने क्रममा जेठ १४ गते मध्यराति उम्मेदवारका प्रतिनिधिबाट नै मतपत्र च्यात्ने काम भयो । जतिबेला एमालेका उम्मेदवार देवी माओवादी केन्द्रकी उम्मेदवार रेणु भन्दा मात्र ७ सय ३३ मतले अगाडि थिए । 
वडा नम्बर १९ को मत नै दुवै उम्मेदवारका लागि निर्णायक थियो । कांग्रेससँगको गठबन्धनमा मेयरकी उम्मेदवार रहेकी रेणुलाई सो वडाबाट राम्रो मत आउने अड्कल काटिएको थियो । तर सोँचेजस्तो मत रणुलाई आएन । जसका कारण देवीले जित्ने निश्चित जस्तै भएको थियो । 

पुनःमतदान हुने भएपछि परिस्थिति फेरिने भएकाले पनि एमालेले अन्तिम समयसम्म विरोध गरिरह्यो । निर्वाचन आयोगले गरेको पुनःमतदानको निर्णय रोक्न एमाले सर्वोच्चसम्म नै पुग्यो । सर्वोच्चले पनि पुनःमतदानकै फैसला सुनाएपछि विरोधका बाबजुद पनि एमाले पुनःचुनावमा होमिएको हो ।