खेलकुद

नेपाल श्रीलंकासँग १ रनले पराजित

काठमाडौं– उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेट अन्तर्गत पहिलो खेलमा नेपाल श्रीलंकासँग एक रनले पराजित भएको छ । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ९९ बलमा ९० रन बनाएपनि जितका लागि पर्याप्त भएन । उनले नौ चौका एक छक्का हाने । अन्तिम ओभरमा ८ रन आवश्यक परेका बेला दिपेन्द्र सिंह ऐरी क्रिजमा थिए । उनले पहिलो बल डट खेले, दोस्रो बलमा छक्का हाने र दुई रन आवश्यक परेका बेला तेस्रो बलमा आउट भए । जितको नजिक पुगिसकेको नेपालको आठौँ र नवौँ विकेट रन आउट भएको थियो ।
पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय २७ रन बनाएको थियो । जवाफि ब्याटिङ गरेको नेपालका सन्दिप सुनार ८ बलमा २ रन, आशिफ शेख ६ बलमा एक रन, भिम सार्की १६ बलमा ८ रन, आदिल खान ६९ बलमा ३९ रन, प्रकाश केसीले २३ बलमा १४ रन, सुवर्णकार उरावले ६४ बलमा ४० रन बनाए । पवन सर्राफ पहिलो बलमै एलबिडब्लु आउट भए । यस्तै कमल सिंह ऐरीले ९ बलमा ९ रन बनाए । सन्दिप लामिछाने ३ बलमा १ रन बनाएर रन आउट भए ।
श्रीलंकाका कामिन्दु मेन्डिसले तीन, अशेन बान्डारा, जेहन ड्यानियल, निपुन रनसिका, दिलसान ग्यामेज र प्रविन जयबिक्रमाले एक एक विकेट लिए ।  श्रीलंकाका हसिथा बोयागोडाले सर्वाधिक ८३ रन बनाएका थिए । इनिङको पहिलो बलमै पहिलो विकेट गुमाएको श्रीलंकाका लागि रविन केली र बोयागोडाले दोस्रो विकेटका लागि ६८ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । श्रीलंकाका असेन बान्दाराले ४७ बलमा ४८ रन, क्रिशन आर्चचिग्गेले ४७ बलमा २८ रन बनाए । रविनले ३७ बल खेलेर १९ रन बनाए ।
नेपालका कमल सिंहले ३ विकेट लिए । यस्तै पवन सर्राफले दुई र दिपेन्द्र सिंह ऐरीले एक विकेट लिए । दिपेन्द्र सिंह ऐरी म्यान अफ द म्याच भए । नेपाल रहेको समूह ‘ए’ मा आयोजक श्रीलंकासहित भारत र मलेसिया छन् । समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेश, सिंगापुर र पाकिस्तान छन् । नेपालले आफ्नो दोस्रो खेल भोलि शुक्रबार भारतसँग खेल्नेछ ।