खेलकुद

एसीसी महिला क्रिकेटमा नेपालको फितलो प्रदर्शन

पहिलो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित
काठमाडौं– थाइल्याण्डमा शनिबारबाट सुरु भएको एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले खराब सुरुवात गरेको छ । शनिबार सम्पन्न पहिलो खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको हो ।
टस जितेर पहिला ब्याटिङ गरेको नेपालले १८ ओभर १ बलमा सबै १० विकेट गुमाएर ४७ रन मात्र बनाएको थियो । नेपालले प्रस्तुत गरेको ४८ रनको झिनो लक्ष्यमा पाकिस्तानले १० ओभरमा १ विकेट गुमाएर भेट्टाउन सफल भएको थियो । खेलमा नेपाली टोलीकी रुविना क्षत्रीले ११ रन बनाएकी थिइन् भने इन्दु बर्मा र ज्योति पाण्डेले ८–८ रन बनाउन सफल भएका थिए । पहिले ब्याटिङ गरेको नेपालले निकै नै खराब प्रदर्शन गरेको देखियो । खेलमा करुणा भण्डारीले ६ रन बनाइन् भने निरा राजोपाध्याले २ रन बनाएकी थिइन् । त्यस्तै, सरिता मगर र काजोल श्रेष्ठ ले १–१ रन बनाए । नेपालका ४ जना खेलाडीले रनको खाता नै खोल्न सकेनन् । नेपाललाई कम स्कोरमा रोक्न पाकिस्तानका अनम अमिन, साना मिर र सादिअ युसफले समान २–२  विकेट लिइन्  भने अस्माभिया इक्वाल र बिस्मान मरुफले १–१ विकेट लिएका थिए ।
रुविना क्षेत्रीको कप्तानीमा रहेको नेपाली टोली प्रतियोगिताका लागि बुधबार बैंकक गएको हो । नेपाली टोलीमा सीता राना मगर, नीरा राजोपाध्याय, करुणा भण्डारी, रोशनी बोहरा, ज्योति पाण्डे, रश्मी शर्मा चौलागाईं, सबनम राई, संगीता राई, काजल श्रेष्ठ, नेरी थापा, सरस्वती चौधरी, शोभा आले, सरिता मगर र इन्दु बर्मा छन् ।
सिंगल राउन्ड रोविन २० ओभरको प्रतियोगितामा आयोजक थाइल्याण्ड र नेपालसहित भारत, बंगलादेश, श्रीलंका र पाकिस्तान सहभागी छन् । राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा नेपालले पहिलो खेलमामा पाकिस्तानसँग पराजित भए पनि बाँकी खेलमा भने नयाँ रणनीतिसहित मैदानमा उत्रिने जनाएको छ । अब दोस्रो खेल नेपालले आगामी सोमबार श्रीलंकाको सामना गर्नेछ भने मंगलबार बंगलादेशसँग भिड्नेछ । त्यस्तै डिसेम्बर १ मा आयोजक थाइल्याण्ड र डिसेम्बर २ मा भारतको सामना गर्नेछ । गएको महिना हङकङमा भएको विश्वकपको एसिया छनौटमा दोश्रो हुँदै नेपालले एसिया कपमा स्थान बनाएको हो ।