खेलकुद

सोलिडारिटी कप विजेता टोलीलाई विमानस्थलमा भव्य स्वागत

काठमाडौं– मलेसियामा सम्पन्न सोलिडारिटी कपको उपाधि विजेता नेपाली टोली बुधबार राति स्वदेश फर्किएको छ । स्वदेश फर्किएको राष्ट्रिय फुटबल टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको हो । राति पौने १० बजे फर्किएको नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीलाई सयौंको संख्यामा उपस्थित समर्थकले स्वागत गरे ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, एन्फाका अधिकारीहरु लगायत व्यक्तिहरु खेलाडीको स्वागतका लागि विमानस्थल पुगेका थिए । विमानस्थलमा उपस्थित यात्रु तथा तिनका आफन्तहरुले पनि खेलाडीहरुलाई हुटिङ गरेर स्वागत गरेका थिए । खेलाडीको स्वागतमा एन्फाले राति नै र्‍याली निकालेको थियो ।  नेपाली सेनाको चारवटा ट्रकलाई फूलले सजाएर विमानस्थल लगिएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरु भएको र्‍याली गौशाला– बत्तिसपुतली– मैतीदेवी– पुतलीसडक– घण्टाघर–सहीद गेट–न्यूरोड– दरबार मार्ग– त्रिपुरेश्वर– थापाथली– कुपण्डोल– पुल्चोक– मंगलबजार– ग्वार्को हुँदै एन्फा कम्प्लेक्स पुगेको थियो ।

विमानस्थलमा पत्रकारहरुसित कुरा गर्दै प्रशिक्षक राजु शाक्य र क्याप्टेन विराज महर्जनले आफूहरु खेल जित्ने आत्मविश्वासका साथ गएको बताए । उनीहरुले सोलिडारिटी कप जितेसँगै नयाँ ट्रयाकको सुरुवात भएको प्रतिक्रिया दिए ।  विजेता टोलीलाई सरकारले जनही रु तीन तीन लाख दिने निर्णय मङ्गलबार नै गरेको थियो। अन्य संघ संस्थाले पनि स्वागत सहित पुरस्कार दिने बताएका छने ।  

प्रतियोगिता अन्तर्गत नेपालले सेमिफाइनलमा लाओसलाई पेनाल्टी सुटआउटमा ३–० गोलअन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो । फाइनलमा भने मकाउलाई १–० को गोलअन्तरले हराउँदै उपाधि जितेको हो ।  यससँगै नेपालले एक वर्षमा लगातार तीन वटा अन्तर्राष्ट्रिय उपाधि जितेको छ । गत वर्ष माघमा बङ्गलादेशमा भएको बङ्गबन्धु गोल्डकप जितेको नेपाल त्यसको एक महिनापछि भारतमा सम्पन्न दक्षिण एसियाली खेलकुद (साग)मा पनि नेपाल उपाधि चुम्न सफल भएको थियो । 

२ मंसिर २०७३ ।