खेलकुद

नेपालले इतिहास रच्यो, विजेता खेलाडीलाई जनही ३ लाख दिने

काठमडौं– एएफसी सोलिडारिटी कपको उपाधि जित्दै नेपालले इतिहास रचेको छ। नेपाली फुटबल इतिहासमा यो ठूलो उपलब्धी हो। मलेसियामा मंगलबार सम्पन्न फाइनल खेलमा मकाउलाई १ – ० ले पाखा लगाउँदै नेपालले सोलिडारिटी कपको उपाधि चुमेको हो।

नेपालका लागि सुजल श्रेष्ठले २९औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। मिडफिल्डर सुजलले डिबक्स भित्रबाट भरत खवासले दिएको पासलाई हेडरमार्फत गोल गरेका थिए। अधिकांश समय कमाउमाथि हाबी रहेको नेपाली टिमले गोलको अवसर सिर्जना गरे पनि थप गोल गर्न भने सकेन र खेल १ – ० ले जित्यो। वर्षाले मैदान हिलै भए पनि नेपाली खेलाडीले मकाउका खेलाडीलाई खेलमा खुल्न दिएनन्।

५०औँ मिनेटमा भरतको क्रसमा अञ्जन विष्टले डिबक्सभित्र खुट्टामा गोल पाए पनि गोल गर्नबाट चुकेका थिए। यस्तै, ६८औँ मिनेटमा विमल घर्तीमगरले गरेको प्रहार मकाउको गोल पोस्टबाट बाहिरियो। विमलले २५ यार्ड टाढाबाट पाएको बलमा कडा प्रहार गरेका थिए। विमलले नै ७७औँ मिनेटमा डि एरिया नजिकबाट प्रहार गरेको फ्रिकिक गोल किपरले रोकेका थिए। फितो प्रदर्शन गरेको मकाउले खेलमा राम्रा गोलको मौका सिर्जना गर्न सकेन।

यसअघि नेपाल र मकाउबीच पाँच वटा खेल भएका छन्। जसमा नेपालले तीन खेल जितेको छ भने एक बराबरी र एकमा हार व्यहोरेको छ। नेपाल ८ वर्षपछि मकाउसँग खेलेको हो। पछिल्लो पटक नेपाल र मकाउ सन् २००८ मा कम्बोडियामा आयोजना भएको एएफसी च्यालेञ्ज कपको पहिलो चरणको छनोट खेलमा भिडेका थिए। जुन खेल नेपालले ३ – २ गोलअन्तरले जितेको थियो।

नेपालले एसियाली फुटबल महासंघको सदस्यता लिएको ६२ वर्षपछि उसले आयोजना गरेको औपचारिक प्रतियोगिताको उपाधि जितेको पहिलो पटक हो। समूह विजेता हुँदै सेमिफाइनल पुगेको नेपालले लाओसलाई ट्राइब्रेकरमा ३ – ० ले हराउँदै फाइनल यात्रा तय गरेको थियो।

यसैबीच,  मलेसियामा भएको एएफसी सोलिडारिटी कपको उपाधि जित्ने नेपाली टिमका खेलाडीलाई खेलकुद मन्त्रालयले नगदसहित सम्मान गर्ने घोषणा गरेको छ। मन्त्रालयले नेपाली टिमका खेलाडीलाई जनही ३ लाख रुपैयाँसहित सम्मान गर्ने घोषणा गरेको हो।

युवा तथा खेलकुद मन्त्री दलजीत श्रिपाइलीले खेलाडीलाई प्रोत्साहन स्वरुप तीन लाख नगद पुरस्कार दिने घोषणा गरेको बताए। उनले भने– ‘एफसीसँग जोडिएको ६२ वर्षको इतिहासमा प्राप्त यो उपलब्धी नेपाली फुटबलमा महत्वपूर्ण छ। खेलाडीलाई दिइने तीन लाख रुपैयाँ प्रारम्भिक चरणको घोषणा हो, यसमा बृद्धि पनि हुन सक्छ।’

१ मंसिर २०७३ ।