खेलकुद

युएस कप क्रिकेटको उपाधि नेपालले जित्यो

न्यूयोर्क–  अमेरिकाको टेक्सासमा भएको टु एक्स क्रिकेट युएसए कपको उपाधि नेपाली राइनोजले जितेको छ । फाइनलमा हस्टन स्पार्कलाई ५४ रनले पराजित गर्दै नेपालले उपाधि कब्जा गरेको हो ।  टेक्सासको मोसा रंगशालमा भएको खेलमा नेपाली राष्ट्रिय टिमका खेलाडीसहितको नेपाली राइनोजले प्रस्तुत गरेको एक सय ९८ रनको लक्ष्य पछ्याएको हस्टन स्पार्कले १८ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर एक सय ४३ रन मात्रै बनाउन सक्यो । नेपाली राइनोजका शवन फाइन्डलीले तीन तथा पारस खड्का, सोमपाल कामी र रुस्ती थ्रोनले समान दुई दुई विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको नेपाली राइनोजले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ९७ रन बनाएको थियो । राइनोजका लागि पारस खड्काले सर्वाधिक ७७ रन बनाए । उनले ३८ बलमा ८ चौका र सात छक्काको मद्दतमा ७७ रन बनाएका थिए। यस्तै शवन फाइन्डलीले नटआउट ६१, सुवास खकुरेलले ३२ तथा ज्ञानेन्द्र मल्लले चार रनको योगदान दिएका थिए । प्रतियोगिताको विजेता बनेको नेपाली राइनोजले मिट्सुबिशी कारसँगै ६० हजार अमेरिकी डलर पुरस्कार पाएको छ । यस्तै उपविजेता हस्टन स्पार्कले १८ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरेको छ । 
२९ कार्तिक २०७३ ।