खेलकुद

सोलिडारिटी कपः नेपाल लिस्टेसँग बराबरी

काठमाडौं– मलेसियामा जारी एएफसी सोलिडारिटी कपको आफ्नो पहिलो खेलमा नेपालले टिमोर लिस्टेसँग बराबरी खेलेको छ । मलेसियाको कुचिङमा रहेको निगेरी रंगशालमा भएको खेलमा राम्रा अवसर मिलेपनि गोल भने हुन सकेन । 
टिमोर लिस्टेको यो समूह चरणको दोस्रो खेल हो । गएको बुधबार भएको पहिलो खेलमा टिमोर लिस्टे ब्रुनाइसँग ४–० गोल अन्तरले पराजित भएको थियो । शनिबारको खेलअघि नेपाली टिमका मुख्य प्रशिक्षक ग्योटुकु कोजीले टिमोर लिस्टेले पहिलो खेल गुमाएको भएपनि आफूहरुले उसलाई कमजोर रुपमा नलिएको प्रतिक्रिया दिएका थिए । नेपालले पछिल्लो पटक सन् २०११ मा टिमोरलाई हराएको थियो । टिमोर लिस्टेका मुख्य प्रशिक्षक फाबियो डा सिल्भाले पहिलो खेलमा मैदानका कारण राम्रो खेल्दा खेल्दै पनि नतिजा आफ्नो पक्षमा नआएका बताउँदै नेपालसँगको खेलमा सुधारिएको प्रदर्शन गर्ने बताएका थिए । सात देशको सहभागिता रहेको प्रतियोगितामा नेपाल, टिमोर लिस्टे र ब्रुनाइ समूह ‘ए’मा छन् । यस्तै समूह ‘बी’मा श्रीलंका, मकाउ, मंगोलिया र लाओस छन् ।
२१ कार्तिक २०७३ ।