खेलकुद

मीरा राई एड्भेन्चर्स अफ द इयर अवार्डको मनोनयनमा

काठमाडौं– अल्ट्रा धाविका मीरा राई १२औं एड्भेन्चर्स अफ द इयर अवार्डको मनोनयनमा परेकी छन्। नेशनल जियोग्राफी च्यानलले हरेक बर्ष बितरण गर्ने एड्भेन्चर्स अफ द इयर अवार्डको मनोनयनमा विश्वभरका साहसी खेलसँग आवद्धहरुमध्ये १० जना मध्ये नेपालकी राई पनि परेकी हुन्।

मीरासँगै केभ ड्राइभर क्रिजिस्तोफ स्टारवान्स्की, कायकर स्मिथ ली, माउन्टेनर कोलिन हाले, ओसियन एडभोकेट शानन स्वीट्जर स्वानसन, प्याराग्लाइडर एन्टोनी जिरार्ड, पार्क प्रोटेस्टर पिटर म्याकब्राइड र केभिन फेडार्को, वाइल्डरनेस डिफेण्डर क्रिष्टिन म्याकडिभिट तोम्प्कीन र सेलेस्टियल सर्कुमनेभिगेटर होकुले र उनको टोलीमा परेका छन्।

उनीहरुलाई नेशलन जियोग्रफिकको आधिकारीक वेवसाइटमार्फत भोट दिन सकिनेछ । भोटिङ नोभेम्बर ३ देखि सुरु भइसकेको छ। यो क्रम आगामी डिसेम्बर १६ सम्म भोट गर्न सकिनेछ। बिजेताको घोषणा सन् २०१७ को जनवरीमा गरिनेछ ।

पूर्वी नेपालको भोजपुरमा जन्मिएकी २७ बर्षीय राई तत्कालिन नेकपा माओवादीकी लडाकु थिइन्। उनले सन् २०१५ मा हङकङ, स्पेन, इटली, अष्ट्रेलिया लगायत देशमा भएको अल्ट्रा दौडमा सहभागी भई सफलता पाईसकेकी छीन्। सन् २०१६ को सुरुमा इटलीमा भएको स्काइरनिङ अल्ट्रारेसमा दोस्रो स्थान हासिल गरेपछि चर्चित बनेकी राई अल्ट्रारनरको विश्व बरियतामा दोस्रो स्थानमा आएकी छन्।

१९ कार्तिक २०७३ ।