काठमाडौं– संरक्षकभूषण वज्राचार्य र मायांका राणा प्रथम राष्ट्रिय खुला लनटेनिस प्रतियोगिताको सिंगल्समा च्याम्पियन बनेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा बुधबार ३ घण्टा १५ मिनेट चलेको पुरुष सिंगल्स फाइनलमा संरक्षकले पूर्व नेपाल नम्बर वान कमल भण्डारीलाई ४–६, ७–५ र ६–४ को सेटमा पराजित गरे । सन्तोष खत्री र नवीन पुन तेश्रो भए ।
ललितपुर जिल्ला लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको महिला सिंगल्स उपाधि भिडन्तमा मायांकाले इरा रावतलाई ६–७, ६–२ र ६–३ को सेटमा हराइन् । उक्त फाइनल ३ घण्टा ५ मिनेट चलेको थियो । मायांकाले प्रतियोगितामा दोहोरो स्वर्ण जितिन् । मायांकाले जुम्ल्याहा बहिनी माहिकासंग मिलेर महिला डबल्स उपाधि पनि हात पारिन् । विभूति कार्की र विजिशा श्रेष्ठको जोडी तेश्रो भए । त्यस्तै पुरुष डबल्समा श्रीराम मगर र कमल भण्डारीको जोडी पहिलो भए । संरक्षकभूषण वज्राचार्य र महेश श्रेष्ठको जोडी दोश्रो भए भने सन्तोष खत्री र आत्माराम कार्की तथा शक्ति शर्मा र अनिल शाहीको जोडी तेश्रो स्थानमा रहे ।
कूल नगद पुरस्कार राशी १ लाख ६० हजार रुपैयाँ रहेको प्रतियोगिताका प्रत्येक स्पर्धाका विजेताले २० हजार, उपविजेताले १० हजार र तेश्रो हुने खेलाडीले ५–५ हजारका दरले नगद पुरस्कार पाए । विजेतालाई युवा तथा खेलकुद मन्त्रालयका सह–सचिव चूडामणि पौडेल, अखिल नेपाल लनटेनिस संघका सदस्य समेत रहेका आयोजक ललितपुर जिल्ला लनटेनिस संघका अध्यक्ष कार्कीलगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे । पाँचदिने प्रतियोगितामा विभिन्न ४ स्पर्धामा ९० खेलाडीले प्रतिस्पर्धा गरेका थिए । सो अवसरमा विभिन्न विद्यालय र क्लब गरी १६ संस्थालाई जुनियर टेनिसको विकास र विस्तारका लागि अन्तर्रा्ष्ट्रिय टेनिस महासंघ (आईटीएफ) बाट प्राप्त ¥याकेट र बल हस्तान्तरण गरिएको थियो । लनटेनिस संघका केन्द्रीय महासचिव मनोहरदास मुलले सामाग्री हस्तान्तरण गरे ।
१२ असोज, २०७३ ।
Comments