खेलकुद

क्रिकेट टोली फर्कियो, 'विश्वकपको यात्रा टुंगिएको छैन'

काठमाडौं–  आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न नेदरल्यान्ड्स गएको नेपाली राष्ट्रिय क्रिकेट टोली शुक्रबार स्वदेश फर्किएको छ । नेपालले नेदरल्यान्ड्समा घरेलु टोलीसँग जारी लिगको चौथो चरणअन्तर्गत दुई खेल खेलेको थियो जसमा एक जित र एक हार व्यहोरेको थियो ।

गत साउन २९ गते भएको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सलाई सात विकेटको नतिजा सुम्पियो भने दोस्रो खेलमा सानदार प्रदर्शन गर्दै १९ रनले पराजित ग¥यो ।

जारी लिग च्याम्पियनसिप प्रतियोगितामा नेपाल र नेदरल्यान्ड्ससहित हङ्कङ, पपुवान्युगिनी, स्कटल्यान्ड्स, केन्या, नामिबिया र संयुक्त अरब इमिरेट्स (युएई) गरी आठ राष्ट्र सहभागी छन्। 

आठ टोलीमध्ये शीर्ष चार टोलीले बङ्गलादेशमा सन् २०१८ मा हुने आइसिसी विश्वकप छनोट खेल्ने अवसर पाउने छन्। विश्वकप खेल्ने महत्वपूर्ण खुट्किलोका रुपमा रहेको प्रतियोगितामा नेपाल छ अङ्कका साथ छैटौँ स्थानमा छ। तर नेपालले अब हङ्ककङ, केन्या र युएईसँग खेल्न बाँकी छ। 

नेपाली टोलीले अबको करिब ६ महिना पछि अर्को खेल खेल्नेछ । नेपाल यसअघि स्कटल्यान्ड्स र पपुवान्युगिनीसँग भएका खेलमा पराजित भएको थियो। तर घरमै भएका नामिबियासँगका दुई खेलमा भने नेपाल विजयी भएको थियो। 

३ भदाै, २०७३ ।