समाचार

प्रधानमन्त्रीले संसद्मा उठेका प्रश्नको जवाफ दिने

काठमाडौं ।  सरकारको नीति तथा कार्यक्रम शुक्रबार पारित हुने भएको छ । गत आइतबार संसदमा पेश भएको  कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार जवाफ  दिएपछि नीति तथा कार्यक्रम पारित हुने संसद सचिवालयले जनाएको छ ।

बिहीबारसम्म छलफल सक्ने तयारी भए पनि अझै केही सांसदले बोल्न नाम टिपाएका छन् । नीति तथा कार्यक्रमको  छलफलमा भाग लिँदै सत्तापक्षका सांसदले नीति तथा कार्यक्रमको बचाउ गरेको भएपनि र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतका केही दलले विरोध गरेका छन् । उनीहरुले सरकारको नीति तथा कार्यक्रम पनि ‘म्यादी’ नै भएको बताएका छन् ।

बिहीबारको बैठकमा कांग्रेस नेता प्रकाशमान सिंहले पुनर्संरचना आयोगको प्रतिवेदन आएपछि मात्र स्थानीय निकायको चुनाव गर्नु उचित हुने बताए । त्यस्तै, एमाले सांसद युवराज ज्ञवालीले नीति तथा कार्यक्रम समयाअनुकुल भएकाले विरोध गर्नुको कुनै औचित्य नहुने तर्क गरे । आन्दोलनरत मधेस केन्द्रित दलले बिहीबार पनि संसद बैठक बहिष्कार गरेका थिए  ।