समाचार

८ सय ३८ अर्बको पुनर्निर्माण योजना सार्वजनिक

काठमाडौं । सरकारले ८ सय ३८ अर्बको पुनर्निर्माणको ५ वर्षे योजना सार्वाजनिक गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माण योजनाबारे बिहीबार संसदमा जानकारी गराएका हुन्। नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार योजना सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले यो कोशेढुंगा हुने बताए । उनले पुनर्स्थापनासम्बन्धी योजना आगामी वर्ष पुनरावलोकन हुनेछ, अर्को वर्ष पुनः अध्ययन हुने जानकारी दिए ।
पुनर्निर्माण प्राधिकरणले तयार गरेको पोस्ट डिजास्टर रिकभरी फ्रेमवर्क (पिडिआरएफ) को आधारमा ५ वर्षे योजना तयार गरिएको हो।

यसअघि पोस्ट डिजास्टर निड असेसमेन्ट रिपोर्ट (पिडिएनए) को आधारमा पुनर्निर्माणका लागि ६ सय ६९ अर्ब लाग्ने अनुमान गरिएको थियो। अहिले तयार गरिएको योजनामा पुनर्निर्माणका लागि १ सय ६९ अर्ब बढी लाग्ने देखिएको हो।

प्रधानमन्त्रीले संसदमा दिएको जानकारीअनुसार योजनाभित्र २० वटा विषयगत शीर्षकमा पहिलो खण्डमा १० र दोस्रोमा २० वटा योजनाको खाका राखिएका छन्।

संसदमा बोल्दै प्रधानमन्त्री ओलीले योजना सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय सहयोग वृद्धि हुने अपेक्षा गरेको बताए। उनले पछिल्लो समय गरिएको घरधुरी सर्वेक्षण र विभिन्न मन्त्रालयहरुले गरेको क्षति र पुनर्निर्माणको विस्तृत योजनाअनुसार रकम बढी लाग्ने देखिएको बताए।

प्रधानमन्त्रीले सदनमा दिएको जानकारीअनुसार निजी आवास निर्माणमा ६ खर्ब ४५ अर्ब खर्च हुनेछ। त्यस्तै उत्पादकत्वको क्षेत्रमा १ खर्ब ६ अर्ब खर्च लाग्नेछ। त्यसैगरी पूर्वाधार निर्माणमा ६१ अर्ब र अन्तर्सम्बन्धित विषयमा २६ अर्ब खर्च हुनेछ।

प्रधानमन्त्री ओलीले सरकारले २ वर्षभित्रमा निजी आवास निर्माण गरिसक्ने, ३ वर्षभित्र स्वास्थ्य चौकी लगायतका सार्वजनिक संरचना र ५ वर्षभित्रमा ऐतिहासिक सांस्कृतिक संरचनाहरुको पुनर्निर्माण भइसक्ने बताए। प्रधानमन्त्री ओलीले अहिले सरकार वर्षाअघि आकाशमुनि रहेकाहरुलाई छानामुनि ल्याउन लागिरहेको बताए।