समाचार

चोक-चोकमा जौको सातु र सर्वत !

काठमाडौं । आज अक्षय तृतीया चोक चोकमा जौको सातु र सर्वत वितरण गरेर अक्षय तृतीया मनाइँदै छ । यो दिन खुदो र महको सर्वत तथा जौको सातु खानाले गर्मीयाममा शरीर स्वस्थ राख्न र पानीको मात्रा बढाउन सहयोग पुग्ने विश्वास गरिन्छ ।

यस्तै बुढाबुढीलाई छाता, लौरो र कपडाको जुत्ता दान गर्ने चलन पनि छ । ज्योतिषका अनुसार आज गरिएका सबै सत्कर्महरुको अक्षय (पुण्य) प्राप्त हुन्छ । वर्षको सबैभन्दा पवित्र दिन भएकाले अक्षय तृतीयालाई बिघ्नविनाशक दिन  पनि भनिन्छ ।

अक्षयको अर्थ कहिल्यै क्षय नभएर स्थायी रहने भन्ने हुन्छ । चार युगमा सत्य र त्रेता यसै तृतीया तिथिबाट सुरु भएको मानिन्छ । चार धाममध्ये एक बद्रीनाथ धामको ढोका यसै दिन खोलिन्छ । १८ पुराणका रचयिता बेदव्यासले पनि आजकै दिन महाभारतको रचना गरेको मानिन्छ ।

आजको दिन दान, होम, जप, तप गरी शुद्ध मनले चोक चोकमा जौको सातु र सर्वत वितरण गर्नाले पुण्य प्राप्ति हुने विश्वास गरिन्छ । आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई हिन्दूधर्मावलम्वीले विशेष महत्वकासाथ लिने गर्दछन् ।
मत्स्य पुराणलगायत ग्रन्थमा आजका दिन गरिएको कर्म फलदायी हुने बताइएको छ । यसै दिन त्रेता युगको सुरुवात भएको पनि मानिन्छ । यस दिन बिहानै स्नान गरी लक्ष्मीनारायणको पूजा गर्ने परम्परा छ । अक्षय तृतीयाकै दिन भगवान् विष्णुको सातौँ अवतारका रुपमा परशुरामको जन्म जमदिन र रेणुकाको सुपुत्रका रुपमा भएको किंवदन्ति पनि छ । त्यसैले आजको दिनलाई परशुराम जयन्ती भनी मनाउने चलन पनि छ ।