समाचार

एनसेलको १० अर्ब रुपैयाँ सरकारी खातामा !

काठमाडौं । सरकारलाई कर नतिरेको भन्दै चौतर्फी दबाबपछि सूचना प्रदायक कम्पनी एनसेलले झण्डै दश अर्ब रुपैयाँ सरकारलाई बुझाएको छ । एनसेलले पुँजीगत लाभकर वापत नौं अर्ब ९६ करोड रुपैयाँ आइतबार सरकारलाई बुझाएको हो । शुक्रबार मात्रै एभरेष्ट बैंकको खातामा सारेको पैसा आइतबार सरकारी खातामा जम्मा गरेको हो ।
स्वीडेनमा मुख्य कार्यालय रहेको टेलियासोनेरा (हाल टेलिया कम्पनी नामाकरण गरिएको)तथा  नेदरल्यान्ड्सको एसइए टेलिकमसँग एनसेलको ८० प्रतिशत स्वामित्व मलेसियाको एक्जियटाले एक अर्ब ३६ करोड ५१ लाख डलरमा खरिद गरेको थियो।
 
सन् २०१५ को अन्त्यमा घोषणा गरिएको यो कारोबार अप्रिल ११ तारिखमा सम्पन्न भएको घोषणा दुवै कम्पनीले गरेका थिए। यो कारोबारमा एनसेलले आइतबारसम्म खरिदको आय विवरण तथा १५ प्रतिशत स्रोतमा कर कट्टी गरेर कर कार्यालयलाई बुझाउनु पर्ने दायित्व थियो ।

गत बुधबार मात्रै काठमाडौं आएका एक्जिएटाका प्रेसिडेन्ट तथा सीईओ जमालुद्दिन इब्राहिमले उच्चपदस्थ पदाधिकारीसँग भेटेर कर तिर्ने विषयमा सल्लाह गरेका थिए । कर उन्मुक्ति दिने अवस्था नरहेको बुझेपछि उनले कर दाखिला गर्न थप समय समेत माग गरेका थिए ।