समाचार

'पुनर्निर्माणका लागि हामी तयार छौं'

काठमाडौं । विश्व रेडक्रस दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइएको छ । विश्व रेडक्रस दिवसका अवसरमा आइतबार विहान विभिन्न कार्यक्रमको आयोजना गरिएका थिए ।
कार्यक्रममा  नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापाले रेडक्रमका जन्मदाता जाँ हेनरी ड्युनाले देखाएको मानव सेवाको बाटामा अविचलित भई लाग्नुपर्ने बताए ।
कार्यक्रममा उनले रेडक्रसले गोरखा भूकम्पका समयमा गरेको सहयोग उल्लेखनीय भएको बताउँदै आफूहरु पुनःनिर्माणका लागि तयार रहेको जानकारी दिए ।

सरकारको निर्णयको प्रतीक्षामा छौँ । सरकारले निर्देशन दिनासाथ हामी पुनःनिर्माणको काममा लाग्छौँ । सरकारले ढिलो गर्दा प्राप्त विदेशी सहयोग पनि गुम्ने अवस्था आउन सक्छ।’
रेडक्रसका संस्थापक जाँ हेनरी ड्युनाको जन्मदिन मे ८ को अवसर पारेर नेपाल रेडक्रस सोसाइटीले आज बिहान शान्तिबाटिकाबाट प्रभातफेरी निकालेको थियो भने शान्तिबाटिकामा आज दिनभर रक्तदान कार्यक्रम आयोजना समेत गरियो ।

रेडक्रसले युद्ध, प्राकृतिक विपत्ति, विकास र शान्ति सबै परिस्थितिमा १५३ वर्षदेखि सेवा पुर्‍यायाउँदै आएको छ । रेडक्रस अन्तर्गत अन्तर्राष्ट्रिय समिति, रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ र विश्वका १९० मुलुकमा सङ्गठित तथा क्रियाशील राष्ट्रिय सोसाइटी छन् ।

 ‘रेडक्रस सबै ठाउँमा, सबैका लागि’ भन्ने नाराका साथ आज विभिन्न कार्यक्रम गरी विश्व रेडक्रस दिवस मनाइएको हो ।