समाचार

एनसेलको कर तिर्ने छनक, खातामा ९ अर्ब जम्मा

काठमाडौं । पुँजीगत लाभकर तिर्नु नपर्ने अडानमा रहेको एनसेलले कर तिर्ने संकेत देखाएको छ । सम्बद्ध स्रोतका अनुसार कर उन्मुक्ति दिलाउने जिम्मा लिएका पदाधिकारीले नै उन्मुक्ति दिने अवस्था नरहेको भनेर ‘हात उठाएपछि’ एनसेलको नयाँ व्यवस्थापन कर तिर्न नरम देखिएको हो ।

ठूला करदाता कार्यालयले लाभमा तिर्नुपर्ने २५ प्रतिशतमध्ये १५ प्रतिशत अग्रिम करकट्टी दाखिला गर्न दिएको समय आइतबार सकिँदैछ । बुधबार काठमाडौं आएका एक्जिएटाका प्रेसिडेन्ट तथा सीईओ जमालुद्दिन इब्राहिमले उच्चपदस्थ पदाधिकारीसँग भेटेर यसबारे सल्लाह गरेका थिए । कर उन्मुक्ति दिने अवस्था नरहेको बुझेपछि उनले कर दाखिला गर्न थप समय माग गरेका थिए । एभरेस्ट बैंकमा रहेको एनसेलको खातामा शुक्रबार करिब ९ अर्ब रुपैयाँ विभिन्न स्रोतबाट  दाखिला भएको स्रोतले जानकारी दियो । ठूलो रकम बैंकमा जममा भएको छ, त्यो रकम एनसेलले कर तिर्न वा अर्को कुनै प्रयोजनलाई जम्मा गरेको हो, त्यो अहिले नै थाहा हुने कुरा भएन बैंक स्रोतले जानकारी दियो ।

यसअघि एनसेलको व्यवस्थापनले पनि पूर्वलागनीकर्ता टेलियासँग सल्लाह गर्नुपर्ने भन्दै ठूला करदाता कार्यालयसँग थप समय माग गरेको थियो । कार्यालयले कानुनले त्यस्तो सुविधान नदिएको भन्दै माग अस्वीकार गरेको थियो ।