समाचार

गुल्मीको विकासमा साझेदार बन्न अमेरिकामा रहेका गुल्मेलीहरुलाई मन्त्री ज्ञवालीको आग्रह

न्यूयोर्क । नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले अमेरिकामा रहेका गुल्मेलीहरुलाई गुल्मीको विकासमा साझेदार बन्न आग्रह गर्नु भएको छ ।
गुल्मी अमेरिका नमुना अभियान (गाम मुभमेन्ट) ले न्यूयोर्कमा यहि अक्टोबर २ तारिखमा आयोजना गरेको भेटघाट कार्यक्रममा मन्त्री ज्ञवालीले यस्तो आग्रह गर्नु भएको हो । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर नेपाल फर्कनु अघि गरिएको भेटघाट कार्यक्रममा मन्त्री ज्ञवालीले समग्र गुल्मीको आर्थिक विकासका लागि जलविद्युत, कफिलगायतका क्षेत्रमा लगानी गर्न आग्रह गर्नु भयो । उहाँले गुल्मी जिल्ला विकास पथमा लम्किरहेको र त्यसका लागि आफू वृहत्तर योजनाका साथ अघि बढेको जानकारी पनि दिनुभयो । संघीयता र स्थानीय सरकारका कारण सदरमुकामको चहलपहल घटेको प्रति लक्षित गर्दै उहाँले त्यसका लागि रेसुंगामा केवलकार निर्माण लगायतका योजना पनि सुनाउनु भयो । उहाँले देश अव विशेष योजनाका साथ तिब्र गतिमा विकासको पथमा अघि बढ्ने पनि दावी गर्नु भयो ।
कार्यक्रममा गाम मुभमेन्टका अध्यक्ष हरिनारायण सापकोटाले गुल्मी जिल्लाको पर्यटकीय महत्वलाई राज्यले अझै बुझ्न नसकेको प्रति ध्यानाकर्षण गराउँदै गुल्मीमा रहेका रेसुंगा, रुरु क्षेत्रलगायतका स्थानलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न आग्रह गर्नु भयो । उहाँले गुल्मीको समग्र विकासका लागि अमेरिकामा रहेका गुल्मेलीहरु सहयोग एवं लगानी गर्न आतुर रहेको भन्दै त्यसका लागि सरकारले उचित वातावरण र योजना बनाउनु पर्ने बताउनु भयो ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता त्रैलोक्य प्रताप सेनले गुल्मीको विकासका लागि राजनीतिक खिचातानीबाट माथि उठेर अघि बढ्न सुझाव दिनुभयो । उहाँले गुल्मेली नेताहरुको राजनीतिक सदभावको खुलेर प्रसंशा गर्नुभयो । न्यूयोर्कमा रहेका गुल्मेली अगुवाहरुको सहभागिता रहेको कार्यक्रम गाम मुभमेन्टका सचिव राजेन्द्र गौतमले सञ्चालन गर्नु भएको थियो ।