समाचार

टिका र जमरा लगाइँदै विद्यार्थीलाई दशैं विदा

भक्तपुर, ५ असोज ।  नजिकिँदै आएको हिन्दु धर्मावलम्वीहरुको महान चाड वडादशैंको अवसरमा बुधबार एभरेस्ट भक्तपुर स्कुल र एभरेस्ट इंगलिस स्कुलका विद्यार्थीहरुलाई टिका र जमरा लगाएर शुभकामना दिँदै दशैं विदा दिइएको छ । बिहीबारदेखि असोज २१ गते शनिबारसम्म विद्यार्थीलाई दशैं विदा दिइएको हो ।

एभरेस्ट भक्तपुर स्कुलको कक्षा १ मा पढीरहेका ४ वटा सेक्सन रारा, फेवा, वेगनास र रुपातालमा आवद्ध एकसयजना विद्यार्थीले भदौ २६ गते विद्यालयको सभाहलको कुनामा छरेको जमरा ९ दिनसम्म पानी हालेर हुर्काएका थिए ।

त्यही जमरा बुधबार दशौं दिनमा काटेर नवदुर्गा भवानीको पुजाआजा गरि सबै विद्याथीलाई टिका र जमरा लगाई शुभकामना दिएर विदा दिईएको थियो । एभरेस्ट इंगलिस स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी तथा एभरेस्ट भक्तपुर स्कुलकी संस्थापक प्रिन्सिपल कमलादेवी अमात्य राजभण्डारीले विद्यार्थीलाई टिका र जमरा लगाई शुभकामना दिनुभएको थियो ।