मनोरंजन

क्यान्सर केयर नेपाललाई मनिषाको सहयोग

काठमाडौं, असार । राजधानीमा सम्पन्न पाँचौ संस्करणको ‘एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार २०७३’ वितरण समारोहमा वलिउड अभिनेत्री मनिषा कोइरालालाई प्रदान गरिएको १ लाख नगद उनले ‘क्यान्सर केयर नेपाल’ संस्थालाई हस्तान्तरण गरेकी छिन् ।
‘पाँचौ एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार’ कार्यक्रमकी अध्यक्ष तथा गोपीकृष्ण इन्टरटेनमेण्ट प्रालिकी अध्यक्ष निकिता पौडेलले अभिनेत्री कोइरालालाई प्रदान गरेको  सो रकम कोइरालाले ‘क्यान्सर केयर नेपाल’ संस्थाका सदस्य डा.रश्मी पुन र डा. सन्ध्या चापागाईलाई पुरस्कार वितरण कार्यमस्थलमै हस्तान्तरण गरेकी थिइन् ।
विगतमा आफुलाई पनि क्यान्सर लागेकोले उनले गरीव क्यान्सर रोगीको उपचारमा सो रकम खर्च गर्ने उद्धेश्यले ‘क्यान्सर केयर नेपाल’लाई सहयोग गरेको सो संस्थाका अध्यक्ष एवम् वरिष्ठ क्यान्सररोग विशेषज्ञ डा.मदनकुमार पियाले बताए ।
क्यान्सरका विरामीहरुलाई उपचार सहयोग, क्यान्सररोगका विविध पक्षबारे सभा सम्मेलन र अनुभव आदान प्रदान, जनचेतनामूलक कार्यक्रम र अनितम अवस्थाका क्यान्सररोगीका लागि होम ‘हस्पिस केयर’ सेवादिँदै आएको ‘क्यान्सर केयर नेपाल’ले अभिनेत्री कोइरालाले उपलब्ध गराएको १ लाख रुपैयाँ डिम्वनली र डिम्वाशयमा क्यान्सर भएका महिलाहरुको लागि खर्च गरिने अध्यक्ष डा.पियाले बताए ।
महिलाहरुमा विशेष गरी फोक्सो, पाठेघर, स्तन र पेटपछि डिम्वनली र डिम्वाशयको क्यान्सर हुने गरेको पाइएको छ । सो संस्थाले २०७० सालदेखि असार ४ सम्म ५सय ३९ जना विपन्न क्यान्सर विरामीहरुलाई नेपाल सरकारले उपलब्ध गराएको एकलाख रुपैयाँ बराबरको औषधि उपचार नेशनल क्यान्सर अस्पताल जाउलाखेलमार्फत उपलब्ध गराउँदै आएको छ ।