मनोरंजन

सिने क्षेत्र समग्रमा सुखद्

काठमाडौं, १ बैशाख । गएको वर्ष २०७३ सालभर ८०–८५ को हाराहारीमा चलचित्रहरु प्रदर्शनमा आए । ती मध्ये पनि केही चलचित्रले नेपाली सिने क्षेत्रमा सुनौला छाप छोड्न सफल भए । यसैकारण नेपाली सिनेमाको लागि समग्रमा सुखद् रह्यो भन्ने अवस्था छ । पहिले भन्दा यसवर्ष विदेशी सिनेमाहरुको प्रभाव नेपाली बजारमा कमजोर रहन गयो भने  तुलनात्मक रुपमा नेपाली सिनेमाहरु पनि राम्रा बने र व्यापारमा पनि राम्रो गरे । 
२०७३ सालमा केही सिनेमाहरुको व्यापारले नेपाली सिने नगरीलाई धेरै राहत मिल्यो । धेरैलाई नेपाली सिनेमा क्षेत्र फस्टाउन लागेको सुखद अनुभूति भयो । यसैको फलस्वरुप ७४ सालका लागि लगभग सबै सिनेमाले आफ्नो प्रदर्शन मिति अग्रिम रुपमा ओगटी सकेका पनि छन् । 
 
छक्का पञ्जा
सिनेमा ‘छक्का पञ्जा’ले त धेरै सिनेकर्मी र सिनेमा प्रेमीहरुलाई खुशी दियो । यो सिनेमाले नेपाली सिनेमाको ईतिहासमा किर्तिमान कायम गर्दै १७ करोड भन्दा माथिको व्यापार गर्यो । दीपा श्री निरौलाको डेब्यु निर्देशन रहेको यस सिनेमाले नेपाली सिनेमाको ईतिहासमा मल्टिप्लेक्समा सय दिन मनाउने पहिलो रेकर्ड राख्यो । ‘छक्का पञ्जा’ले दुई दिनमै करोड क्लवमा प्रवेश गरेको खबर बाहिरिएको थियो । सिनेमाले  दुई दिनमा १ करोड ७५ लाखको ग्रश कलेक्शन गरेको थियो । छक्का पञ्जालाई देशभरका करिब ८० वटा हलहरुमा रिलिज गरिएको थियो । 
लुट–२
सिनेमा ‘लुट–२’ ले ८ करोड भन्दा माथिको ग्रश कलेक्सन गर्यो । पहिलो दिनमै  १ करोड ५२ लाखको ग्रश कलेक्शन गरेर सिनेमाले आफूलाई करोड क्लवमा सामेल गराएको थियो ।  निश्चल बस्नेतको निर्देशन रहेको यस सिनेमालाई देशभर एकसाथ सय भन्दा बढी हलहरुमा रिलिज गरिएको थियो । फागुन १३ मा रिलिज भएको  सिनेमामा सौगात मल्ल, दयाहाङ राई, ऋचा शर्मा, कर्मा शाक्य, कामेश्वर चौरासिया लगायतको मुख्य भूमिका थियो । 
जात्रा 
प्रदीप भट्टराईको निर्देशनमा बनेको नेपाली सिनेमा ‘जात्रा’ले पनि यो वर्ष राम्रो व्यापार गर्यो । कमेडी जनरामा बनेको यो सिनेमाले तीन करोड भन्दा माथिको ग्रश कलेक्शन गरेको थियो । सिनेमाले रिलिज भएको एक हप्ता भित्रै आफूलाई करोड क्लवमा सामेल गराएको थियो ।  
‘जात्रा’ले ५१ दिन मनाउने सिनेमाको रकेर्ड पनि कायम गर्यो ।  ५१ औँ दिनसम्म पुग्दा सिनेमोल दुई करोड ५० लाख काठमाण्डौ र मोफसलबाट ५० लाख भन्दा माथिको व्यापार गरेको थियो । सिंगे लामा र यादव पौड्यालले निर्माण गरेको यस सिनेमामा विपिन कार्की, वर्षा राउत, रबिन्द्र सिंह बानीया, रबिन्द्र झा, प्रियंका झा  लगायकातको मुख्य भूमिका थियो । 
पुरानो ढुङ्गा 
रामबाबु गुरुङको निर्देशनमा बनेको सिनेमा ‘पुरानो ढुङगा’ले पनि यो वर्ष करोड क्लवमा आफूलाई सहभागी गरायो । मंसिर १० गते रिलिज भएको सिनेमाले तीन दिनमा करोड क्वलमा प्रवेश गरेको थियो । तर केही अनलाईनहरुमा सिनेमा फ्लप भएको भन्दै खबरहरु छापिएपछि केही विवाद पनि सिर्जना भएको थियो । यता निर्माताहरुले भने हामीलाई सिनेमाले रिलिज भएको तीन दिनमै करोड भन्दा माथिको व्यापार गरेको जानकारी दिएका थिए ।  दयाहाङ र प्रियंका कार्कीको मुख्य भूमिका रहेको ‘पुरानो ढुङगा’ देशभरका ८५ वटा हलमा रिलिज भएको थियो । 
चपली हाईट–२
दीपेन्द्र के खनालको निर्देशनमा बनेको नेपाली सिनेमा ‘चपली हाईट–२’ ले पनि यो वर्ष करोड क्लवमा आफूलाई सामेल गरायो  । सिनेमाले तीन करोड भन्दा माथिको ग्रश कलेक्सन गरेको जानकारी छ । निर्माताहरुले नै सिनेमाबाट १ करोड २० लाख भन्दा धेरै हात पारेका थिए । सिनेमामा मरिश्का पोख्रेल र आयुष्मान देशराज जोशीको मुख्य भूमिका रहेको सिनेमा भदौ ३ मा रिलिज भएको थियो ।  
गाजलु
यहि वर्षको जेठ २८ मा रिलिज भएको सिनेमा ‘गाजलु’ले पनि सजिलै करोड क्लवमा प्रवेश गर्यो । अनमोल के।सी, श्रृष्टी श्रेष्ठ, सलोन बस्नेत, मेनुका प्रधान, गौरभ पहारी लगायतको मुख्य भूमिका रहेको यो सिनेमालाइ दर्शकले खुबै रुचाएका थिए ।  सिनेमाले रिलिज भएको तीन दिनमा दुई करोड भन्दा माथिको व्यापार गरेको जानकारी आएको थियो । त्यस्तै दोस्रो हप्तामा ३ करोड भन्दा माथिको व्यापार गरेको सिनेमाको कुल कमाई भने चार करोड भन्दा माथि पुगेको थियो । यस सिनेमालाई हेम राज बिसीले निर्देशन गरेका हुन् । 
किस्मत–२
छवि ओझाको सिनेमा ‘किस्मत–२’ ले पनि यो वर्ष करोड क्लबमा स्थान पाएको थियो ।  दशैँको अवसर पारेर रिलिज गरिएको यो सिनेमाले करोड भन्दा माथिको ग्रश कलेक्शन गरेको जानकारी छ । ऋषि लामिछानेको निर्देशनमा बनेको सिनेमामा  शिल्पा पोख्रेल, पृथ्वीराज प्रसाईँ, किशोर खतिवडा लगायतको मुख्य भूमिका रहेको छ । सिनेमा असोज २१ मा रिलिज भएको हो ।  
कालो पोथी 
यहि वर्षको जेठ २१ मा नेपालमा रिलिज भएको सिनेमा ‘कालो पोथी’को लगानी मात्रै तीन करोड ८५ लाख हो । नेपालमा रिलिज भएको  पहिलो हप्तामा ९३ लाखको ग्रश कलेक्शन गरेको सिनेमाले  अर्को हप्तामा एक करोड ११ लाख भन्दा माथिको व्यापार गरेको थियो । सिनेमाले दोस्रो सातामा करोडको आँकडा पार गरेको हो । मीनबहादुर भामको निर्देशन रहेको यो सिनेमामा खड्कराज नेपाली, शुक्रराज रोकाय, प्रवीण खतिवडा, बेनिशा हमाल, विपिन कार्की लगायतको अभिनय थियो ।  
यो सिनेमाले  कमाई बाहेकका अन्य विभिन्न रकेर्डहरु पनि राखेको छ जसमध्येको एउटा, ७२ औँ भेनिस फेस्टिभलको ईन्टरनेशनल क्रिटिक्स विक सेक्सनमा उत्कृष्टता हासिल गरेको थियो । 
लप्पन छप्पन
मुकुन्द भट्टको निर्देशनमा बनेको नेपाली सिनेमा ‘लप्पन छप्पन’ पनि यो वर्ष करोड क्लबमा समावेश भएको सिनेमा हो । सिनेमाले चार दिनमा एक करोड ६० लाखको ग्रश कलेक्शन गरेको थियो ।  काठमाण्डौमा रिलिज भएको पहिलो दिनमा ३२ लाख, दोस्रो दिनमा ४५ लाख, तेस्रो दिनमा १५ लाख र सोमबार १७ लाखको व्यापार गरेको थियो भने चौथो दिनसम्म मोफसलमा ५५ लाखको कारोबार गर्दै करोड क्लबमा प्रवेश गरेको सामाचारहरु बाहिरिएका थिए । यस सिनेमामा सौगात मल्ल, दयाहाङ राई, वर्षा सिवाकोटी, प्रकाशजंग शाह, अर्पण थापा लगायतको मुख्य भूमिका छ । सिनेमा चैत ११ मा रिलिज भएको हो । 
राधा
अभिनेता जीवन लुईँटेल र अभिनेत्री संचिता लुईँटेलको कमेस्ट्रिलाई पनि दर्शकले यो वर्ष रुचाए । योगेश घिमरेको निर्देशनमा बनेको सिनेमा ‘राधा’मा यी दुईले पर्दा बाँडेका थिए । यो सिनेमाले पनि  हलमा ५५ दिन मनाउँदै करोड भन्दा माथिको ग्रश कलेक्शन गरेको थियो । अर्थात कार्तिक १२ मा रिलिज भएको ‘राधा’ पनि यो वर्ष करोड क्लवमा जाने सिनेमा बनेको छ । 
वीर विक्रम
मिलन चाम्सको निर्देशनमा बनेको ‘वीर विक्रम’ पनि यो वर्ष करोड क्लवमा प्रवेश भएको सिनेमा हो ।  भदौ २ गते रिलिज भएको यो सिनेमालाई युट्युबमा पनि दशर्कले रुचाएका छन् । सिनेमाको आधिकारिक कमाई नबाहिरिए पनि यसले करोडको आँकडा भने पार गरेको जानकारी छ । सिनेमामा  दयाहाङ राई, दिया पुन, नाजिर हुसेन लगायतको मुख्य भूमिका छ । चलचित्र सफल भए संगै निर्माता चाम्सले यसको सिक्वेल बनाउने घोषणा समेत गरेका छन् ।