डा. माधवप्रसाद पोखरेल
१. नेपालका भाषा
नेपालमा जम्मा पाँच महापरिवारका भाषा बोलिन्छन् । ती हुन् क) कुसुन्डा परिवार ख) द्रविड परिवार ग) आग्नेय परिवार घ) भोटवर्मेली परिवार र ङ) भारोपेली परिवार । कुसन्डा भाषा संसारको कुनै परिवारसित पनि मिल्दैन । यो भाषा एउटै मझेरीमा बोल्न पाउने रोल्पा टुनीबोटकी पुनी ठकुरी र उनी छोरी कमला खत्री मात्र छन् । देउखुरीकी ज्ञानीमैंया सेन र दाङका प्रेमबहादुर शाही आफ्नो परिवारमा कसैसित पनि आफ्नो मातृभाषा बोल्न पाउँदैनन् । त्रिभुवन विश्वविद्यालय, भाषाविज्ञान केन्द्रीय विभागमा कुसुन्डा भाषाको अभिलेख भइरहेका बेलामा कीर्तिपुरका एउटै डेरामा बस्ता कमला खत्री ज्ञानीमैयाँ सेन र प्रेमबहादुर शाहीले आफ्नो मातृभाषा बोल्ने मौका पाएका थिए । ती तीनजना बाहेक कुसुन्डा भाषा बोल्न सक्ने अर्घाखाँचीमा दुईजना पनि छन् भन्ने सूचना ज्ञानीमैँया सेनले दिएकी छिन् ।
द्रविड परिवरको भाषा अहिलेसम्म एउटा झाँगड (कुडुँख वा उराउँ) मात्र जानकारीमा छ । अग्नेया परिवारका सतार, सन्थाल वा सन्ताल व खडिया गरी दुइटा भाषा नेपालमा बोलिन्छन् ।
भोटबर्मेली परिवारका भाषाहरु नेपालमा झन्डै १०० ओटा पुग्छन् भन्नेकुरा एथ्नोलग (२००२ इ)मा लेखिएको छ । त्यहाँ पूर्वी किराँती (१४ ओटा), केन्द्रीय किराँती (१३ ओटा), पश्चिमी किराँती (२२ ओटा), तामाङ–गुरुङ समूह (१४ ओटा), हिमालीवत् (८ ओटा), बारिक समूह (मेचे र लेप्चा) र अज्ञात (२ ओटा)आदि वर्ग र उपवर्ग छन् । नेपालमा बोलिने भोटबर्मेली परिवारका धेरै भाषाहरु लोपहुने अवस्थामा पुगेका छन् । दुरा भाषा बोल्न जान्ने अहिले लमजुङ दुराडाँडाकी ८२ वर्षकी एक्ली सोममाया दुरा मात्र हुन्, तर राष्ट्रिय जनगणनामा दुरा बोल्नेको संख्या झन्डै साढे तीन हजार देखिन्छ । धनकुटा मुगामा मुगाली राईहरु आफ्नो छुट्टै भाषा जोगाउन सकिरहेका छन् कि छैनन् मलाई थाहा छैन । संखुवासभातिरको सामभाषा बोल्ने राईहरु मध्ये कति जनाले आफ्नो मातृभाषा जोगाइरहेका छन् भन्न गाह्रो छ । लुलाम राई बोल्न सक्ने खोटाङमा कति जना छन् म भन्न सक्तिन । भाषिक मृत्युको संघारमा पुगेका त्यस्ता कति राई भाषा छन् कसैलाई पनि थाहा छैन । अन्तर्भाषी विवाहले गर्दा किराँती भाषामा व्यापक रुपले नेपाली भाषातिर भाषिक अपसरण भइरहेको छ । खोजी पसे यस्ता अनेक भोटबर्मेली भाषाहरु हाम्रा लगतमा आउने सम्भावना छ ।
नेपालमा भारोपेली परिवारका २६ ओटा भाषा एथ्नोलगको गन्तीमा परेका छन् । अहिले भारोपेली आर्य परिवारका चुरौटे (मियाँ) र माझी अनि तराइमा अङ्गिका, बज्जिका, मगही जस्ता भाषाहरु पनि अनुसन्धान पर्खिरहेका छन् । परम्परागत रुपमा नेपाली भाषाका भाषिका भन्ने गरिएका कर्णाली प्रस्रवण क्षेत्रका डोट्याली, जुम्ली, हुम्ली, बझाङी, दार्चुलाली, अछामी, कालीकोटेजस्ता मातृभाषाहरु आफ्नो फरक चिनारी खोजिरहेका छन् । जनगणना २०५८ ले त तिनीहरुलाई छुट्टै भाषा मानेको छ । नेपाली नबुझ्ने ती मातृभाषाका केटाकेटीलाई प्राथमिक तहसम्म उनीहरुकै मातृभाषामा शिक्षा दिनु न्यायसङ्गत होला कि भन्ने कुरो शिक्षाशास्त्रीहरुले ठेगान लगाउन बाँकी नै छ । महेश चौधरीको अनुसन्धानका आधारमा थारु भाषामा ६÷७ ओटा भेद देखिन्छन् । थारु भाषा पूर्वमा मैथलीबाट, बीचमा भोजपुरीबाट र पश्चिममा अवधिबाट छुट्याउनुपर्ने पनि आवश्यकता छ ।
खोजी पसे बनकरुवा भाषा झापामा भेटिन सक्छ । त्यो भाषा फेला परे, वनकरुवा एउटै हो कि फरक भाषा हो, छुट्याउन पनि सजिलो पर्ने थियो ।
राष्ट्रिय साहित्य सङ्गोष्ठी – २०६४
Comments