मनोरंजन

तेस्रो नमुना बस्ती बनाउने धुर्मुस–सुन्तलीको घोषणा

काठमाडौं– हास्यकलाकार हुँदै समाज सेवामा लागेका कलाकारद्वय सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)ले महोत्तरीको बर्दिवासस्थित मुसहर बस्तीमा एकीकृत नमूनाबस्ती निमार्ण गर्ने घोषणा गरेका छन् । कलाकारद्वयले युट्यूवमार्फत एक भिडियो सार्वजनिक गर्दै तेस्रो पटक बस्ती निर्माण गर्न लागेको जानकारी दिएका हुन् ।
भूकम्पपछि पुनःनिर्माणमा ढिला सुस्ती भइरहेको बेला कलाकार जोडीले एकीकृत नमूना बस्ती निर्माणमा तिव्रता दिइरहेका छन्। यसअघि उनीहरुले काभ्रेको पहरी बस्ती र सिन्धुपाल्चोक गिरान्चौरमा एकीकृत नमूना बस्ती निर्माण गरिसकेका छन् भने यो मुसहर बस्तीमा निर्माण गरेपछि उनीहरुले निर्माण गरेको तेस्रो एकीकृत नमुना बस्ती हुनेछ ।
गत वर्ष सरसफाइका क्रममा उनीहरु सो बस्ती पुगेका थिए। मुहसर बस्ती अभाव र गरिबीमा दाउरा बेचेर जिविकोपार्जन गरिरहेको देखेपछि उनीहरुले सो स्थानमा बस्ती निर्माण गर्ने योजना बनाएका हुन्। सो स्थानमा ५० घर निर्माण गरी हस्तारण गरिने बताइएको छ। ४ करोड ७८ लाखको लागतमा निर्माण गरिने नमूना बस्ती बालमैत्री र सरसफाईयुक्त हुने समेत बताइको छ।