मनोरंजन

रहेनन् कलाकार आरपी भट्टराई

विराटनगर– हास्य कलाकार आरपी भट्टराई सम्पूर्ण कलाकर्मी र आम दर्शकलाई दुःखी बनाउँदै संसारबाटै विदा भएका छन् । शुक्रबार विहान विराटनगरस्थित फुपुको घरमा उनको निधन भएको हो । ४२ बर्षका आरपी केही दिन अगाडी मात्रै विराटनगर गएका थिए ।

प्रेसर र सुगर रोगी उनी वजनदार शरीरका कारण चिन्तित थिए । दर्शकमाझ ‘राजालाम’ उपनामले चिनिले कलाकार भट्टराईका एक श्रीमती र दुई छोराहरु छन् । ‘तीतो सत्य’ बाट चर्चामा आएका भट्टराईले गीत समेत गाएका छन् । उनले पछिल्लो पटक ‘कालो रैछु म पनि’ बोलको गीत सार्वजनिक गरेका थिए । मिजासिला स्वभावका भट्टराई हाँस्य व्यंग्य क्षेत्रमा सबैका प्रिय मानिन्थें । 

भट्टराईको निधनले नेपाली कलाकारिता क्षेत्रले एउटा होनहार कलाकार गुमाएको छ । उनको निधनसँगै समग्र कलाकारिता क्षेत्र स्तब्ध बनेको छ । उनको निधनप्रति दुःख व्यक्त गर्दै कलाकारले सामाजिक सञ्जालमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिबारमा समवेदना प्रकट गरेका छन् ।