मनोरंजन

पुरानो डुंगा चढ्नेको भीड !

काठमाडौं– नेपाली चलचित्र ‘पुरानो डुंगा’लाई साथ दिने दर्शकको घुइँचो लागेको छ । शुक्रबारबाट प्रदर्शनमा आएको यो फिल्मको ओपनिङ बिजनेस उत्साह जनक गरेको थियो भने आइतबारसम्म चलचित्रले दर्शकको राम्रै साथ पाइरहेको छ । निर्माण पक्षको भनाइलाई आधार मान्ने हो भने प्रदर्शन भएको दुई दिन शुक्रबार र शनिबारमा करोड भन्दा माथिको ग्रस कलेक्सन गरेको बताइएको छ ।

बक्स अफिसको अभावले यसलाई निर्माणपक्षले दिएको जानकारीलाइ नै आधिकारिक मान्नु पर्ने अवस्था पनि छ । फिल्मको मल्टिप्लेक्स बुकिङ हेर्ने हो भने पनि यसले सुरुवात भने राम्रो गरेकोमा कुनै शंखा गर्ने ठाउँ पनि छैन । कालीप्रसाद बास्कोटाको शब्द, संगीत र स्वर रहेको ‘नीर जहिले रिसाउने’ बोलको गीत लोकप्रिय भइदिँदा पनि फिल्मको हाइप बढेको हो । रामबाबु गुरुङको निर्देशनमा तयार भएको यस फिल्ममा माओत्से गुरुङ, मेनुका प्रधान, दयाहाङ राई, प्रियंका कार्की, बुद्धि तामाङ लगायतको अभिनय छ । ‘पुरानो डुङ्गा’ राजधानीमा दुई दर्जन र मोसफलमा झण्डै ६० वटा हलहरुमा चलचित्र प्रदर्शन जारी छ ।

प्रदर्शनमा आएको दिन शुक्रबार चलचित्रले राजधानीको चाबहिल स्थित गोपिकृष्ण हलका पाँच वटा पर्दा हाउसफुल व्यापार गरेको थियो । सात पर्दा रहेको हलका गोपी, कृष्ण, ओम, नम र शिवाय ‘पुरानो डुंगा’का दर्शकले भरिभराउ भएका थिए । त्यस्तै राजधानीका अन्य ठूला मानिने हल अष्टनारायण, गुण, गंगा, कलंकीमा पनि दर्शकले राम्रै साथ दिएका थिए ।

राजधानीमा फिल्मको पहिलो दिनको अकुपेन्सी ८० प्रतिशत माथि देखिएको थियो । चलचित्र हेरेका दर्शकहरुले पनि चलचित्र निकै नै राम्रो बनेको बताएका छन् । पुख्र्यौली सम्पत्तीको रुपमा रहेको डुंगाको अंशबन्डाले परिवारमा ल्याएको फुटको कथा नै ‘पुरानो डुंगा’ को मुख्य कथानक रहेको बताइएको छ ।

१२ मंसिर २०७३ ।