मनोरंजन

तिहारका दुई चलचित्र कस्ता ?

काठमाडौं- नेपालीहरुको दोस्रो ठूलो चाड तिहारलाई लक्षित गरी दुई वटा चलचित्र शुक्रबारबाट प्रदर्शनमा आएका छन् ।  दुई फरक धारका चलचित्र ‘परदेशीको उमङ्ग’ र ‘राधा’ एकैसाथ प्रदर्शनमा आएका हुन् । शिव शर्माद्वारा पहिलोपटक निर्देशित चलचित्र ‘परदेशीको उमङ्ग’ वैदेशिक रोजगारीको सत्य घटनामा आधारित रहेको छ ।  निर्देशक शर्मा लामो समयदेखि नृत्य निर्देशक पेसामा आबद्ध हुनुहुन्थ्यो । त्यस्तै ‘राधा’ योगेश घिमिरेको निर्देशनमा बनेको प्रेम कथामा आधारित चलचित्र हो ।

यो चलचित्रमा केहीकेही हाँस्य रस पनि समावेश गरिएको छ । ‘राधा’मा प्रेम कथालाई मुख्य विषय बनाएको भए पनि नेपाली नारीको सङ्घर्ष र पीडालाई पनि समावेश गरिएको निर्देशक घिमिरेले बताउनुभयो । चलचित्रको कथा भने प्रदीप भारद्ववाजले लेख्नुभएको छ ।

यता ‘परदेशीको उमङ्ग’को झण्डै ८० प्रतिशत छायाङ्कन संयुक्त अरब इमिरेट्सको दुबई र बाँकी काठमाडौं, बाग्लुङ र गुल्मीमा गरिएको छ । चलचित्रका निर्मातासमेत रहेका कुमार जिसीको यसमा मुख्य भूमिका रहेको छ । त्यस्तै बिनिता बराल, रामबाबु रेग्मी, सिपी पौडेल, शिला श्रेष्ठ आदि कलाकारको अभिनय छ ।

चलचित्रमा अर्जुन पोखरेलको शब्द तथा सङ्गीतको साथमा भारतीय गायक नाकाश अजिजको समेत पाश्र्व गायन छ । त्यसैगरी ७२ लाख रुपैयाँको लागतमा निर्माण भएको चलचित्र ‘राधा’ पूर्वको झापा र इलामसँगै भारतको दार्जिलिङमा समेत छायाङ्कन गरिएको छ ।

निर्देशक घिमिरेका यसअघि ‘नोटबुक’, ‘भुल भूलैया’ जस्ता चलचित्र प्रदर्शनमा आइसकेका छन् ।  चलचित्रकर्मीहरु राम्रो चलचित्र बनाउँदैनन् तर, राम्रो व्यापारको लागि एक वर्ष अघि देखि लामो विदाको प्रतिक्षामा रहेका हुन्छन् । यो वर्षको दसैंमा चलचित्र किस्मत–२ र सुब्बा साब प्रदर्शनमा आए पनि आशातित परिणाम हात पार्न सकेनन् । तिहारमा प्रदर्शनमा आएका यी चलचित्रको अवस्था पनि उस्तै देखिने निश्चित भएको छ । यी दुबै चलचित्रको प्रचार प्रसार लगायत विविध पक्षलाई मूल्यांकन गर्दा यस्तो अवस्था देखिएको हो ।

जीवन लुइँटेल र संचिता लुइँटेलको  मुख्य टर्निङ पोइन्टका रुपमा हेरिएको यो चलचित्र खासै बाहर ल्याउन नसक्ने प्रिमियर हेरेका निर्माता, निर्देशक र रंगपत्रकार लगायतले समिक्षा गरेका छन् । तर,  निर्माण कम्पनीले भने चलचित्र उत्कृष्ट रेहेको दाबी गर्न भने पछि परेको छैन । जसले जेसुकै दाबी गरे तापनि चलचित्रले कस्तो व्यापार गर्ने हे भन्ने कुरा नै प्रमुख हुन आउँछ ।