मनोरंजन

‘राम्री केटी नबोले रिस उठ्छ’: किरण केसी

काठमाडौं– गाई जात्राको अवसरमा हास्य कलाकारका प्रमुख पात्र दलका शीर्ष नेताहरु हुने गरको छन् । कलाकारहरु कोही प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बन्छन् भने कोहीले कांग्रेस सभापति शेरबहादुर देउवाको लवजलाई टपक्कै टिप्छन् त कोही एमाले अध्यक्ष केपी ओली बन्न उद्यत रहन्छन् । 

शुक्रबार विहान मात्रै रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष कार्यक्रममा देशका चर्चित हाँस्य कलाकारहरूले आफ्नो प्रहसन प्रस्तुत गरे । कार्यक्रममा चर्चित हाँस्य कलाकार मनोज गजुरेलले अख्तियार प्रमुख लोकमानसिंह कार्कीको कार्यशैलीको सन्दर्भलाई उल्लेख गरेका थिए । गजुरेलले प्रमुख आयुक्त कार्कीलाई अब ठूला माछा समात्ने गरी काम गर्न व्यङ्ग्यात्मक रुपमा सुझाव दिए । 

गजुरेलले क्लवका अध्यक्ष ऋषि धमलामाथि पनि व्यङ्ग्य  गरे । धमलाले अन्र्तवार्ता लिँदा कहिले ठूलो स्वर त कहिले मसिनो स्वरमा प्रश्न सोध्ने गरेको भन्दै त्यसको बारेमा व्यङ्ग्य गरे । उनले यसपटकको गाईजात्रे व्यङ्ग्यमा नेताहरु प्रचण्ड, देउवा, ओली र अख्तियार अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की समेतको बारेमा क्यारिकेचर गर्ने जनाए । 

अर्का कलाकार शैलेन्द्र सिंखडाले प्रताव मल्लको पालादेखि चलिआएको नेपाली गाईजात्राले नेपाली सभ्यतालाई जिउँदो राख्ने काम गरेको र गाईजात्राले पछिल्लो समयमा बिशाल आकार लिएको बताए । सत्रु हँसाएर, राष्ट्र रुवाउने कुरा दुःखद रहेको उनले बताए । उनले कलाकार जितु र दमनको एकता हुनुलाई पार्टीको एकता भएको जस्तै महशुस गरेको बताए । सिंखडाले नेपाली नेताहरुको चरित्रमाथि व्यङ्ग्य गरेका थिए ।  

त्यसैगरि अर्का चर्चित कलाकार दिपकराज गिरीले कलाकार अरुलाई मिलेनन् भनेर सन्देश दिने तर कलाकारले नै एकअर्कासँग बोलाचालसम्म नगर्ने चलन रहेको बताए । गिरीले हरेक दिन आफूहरु राजनीतिक परिवर्तनको बारेमा चिन्तित रहेर नेताहरुको गाईजात्राको बारेमा व्यङ्ग्य गर्दै आएको स्पष्ट पारे ।

उनले प्रचण्ड र ओलीको गठबन्धन टुटेपछि उत्पन्न भएको राजनीतिक तरंगलाई आफूहरुले गाईजात्रे प्रस्तुति बनाएको जनाए । कलाकार दिपाश्री निरौलाले देशमा जारी गतिरोधलाई अन्त्य गर्न सबै मिल्नुपर्ने बताईन । निरौलाले आफू निर्देशित छक्का पन्जा नामक चलचित्रको गितलाई आधार बनाएर नेताहरुलाई व्यङ्ग्य गरेकी थिइन् ।  

किरण केसीले कलाकारहरूले पर्दशन गर्ने शैली र विषय समाजलाई सम्बोधन गर्ने खालको हुनुपर्नेमा जोड दिए । केसीको व्यङ्गत्मक प्रस्तुति थियो ‘राता मकै क्या राम्रो फूल उठ्छ, राम्री केटी नबोले रिस उठ्छ ।’
कार्यक्रममा अर्का चर्चित हाँस्यकलाकार जितु नेपालले कोही पहाडी, कोही मधेसी छैन हामी सबै नेपाली हौं भन्ने गहिरो भावले सिञ्चित भएपनि व्यक्तिगत र दलगत स्वार्थका लागि मरिहत्ते गर्ने गलत प्रवृतिले देशको भविष्य धरापमा परेको भन्दै चिन्ता व्यक्त गरे । 

अर्का कलाकार दमन रुपाखेतीले पनि ऋषि धमला र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवावीचको वार्तालापलाई व्यङ्ग्यात्मक प्रस्तुति गरेका थिए । शिवहरि रिजाल जोगिन्दरले नेपालको संविधानप्रति भारतले देखाएको चरित्रलाई व्यङ्ग्य प्रहार गर्दै भने ‘भारत चियावाला हो र नेपाल खुकुरीवाला हो ।’