समाचार

ब्लडमनि तिर्न नसक्दा नेपालीहरु साउदी अरवको जेलमा

काठमाडौं–ब्लडमनिको अभावमा साउदी अरबको जेलमा रहेका सात जना नेपालीलाई जेलमुक्त गर्न उनीहरुका आफन्तले नेपाल सरकारसंग आग्रह गरेकाछन् ।  उनीहरुले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी उनीहरु निर्दोष भएको भन्दै नेपाल फर्काउने वातावरण बनाउन नेपाल सरकारसंग आग्रह गरेका हुन् । 

वैदेशिक रोजगारीमा साउदी अरव पुगेका उनीहरुलाई बिभिन्न बाहनामा जेलमा हाली यातना दिने गरेकाले जति सक्दो चाडो जेलमुक्त गरीदिन आफन्तहरुले आग्रह गरेका छन् ।  झापाको मदन पंधाक लिम्वु ब्लड मनि बुझाउन नसक्दा १ बर्ष ९ महिनादेखि साउदी अरवको जेलमा यातना भोगीरहेका छन् । त्यसैगरी तनहुँका धनबहादुर थापा मगर पनि त्यहाँको अदालतले ३ लाख रियाल नेपाली ८५ लाख रुपैयाँ ब्लड मनि तिर्न फैसला गर्दा समेत ब्लड मनि तिर्न नसक्दा जेलमा छन् ।

उनी १५ महिनादेखि जेलमा छन् । उन्का छोरा सागर थापामगरले बुवालाई जेलमुक्त गर्नको लागि सरकारको ढोका कैयौं पटक चाहरे तर उनको समस्या ज्यूँका त्यूँ छ । मोरङका भीमबहादुर दाहाल साउदीको जेलमा कोचिएको ४ बर्ष ६ महिना भइसक्यो । उनी पनि पनि ब्लड मनि तिर्न नसक्दा आफ्नो जीवन साउदीको जेलमा बिताउन बाध्य छन् । 

उनी जतिसक्दो चाँडो नेपाल फर्कन चाहन्छन् । त्यसैगरी  सिरहाका सुरेश मण्डल, धनुषाका संजिव यादव सर्लाहिका बिष्णुहरि पाण्डे, काभ्रेका रामचन्द्र तिमिल्सिना पनि साउदीको जेलमा अनावश्यकरुपमा जेल जीवन भोगी रहेका छन् । उनीहरु पीडित सबैका मुद्धा त्यहाँस्थित नेपाली साझा मञ्चले उठाइरहेको भए पनि कतैबाट सुनुवाई भएको छैन् । 

उनीहरुको लागि ब्लड मनि संकलन गर्न बिभिन्न स्तरमा काम भइरहेको समाजसेवी तथा काठमाडौं गोर्खा गेष्ट हाउँसका प्रोपाईटर श्रीकुमार लिम्बुले बताउनुभयो ।  ब्लडमनिको अभावमा उनीहरुले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उनीहरुको चाहना छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले उनीहरुको जीवन रक्षाका लागि कुटनीतिक रुपमा पहल गरिदिन सरकारसंग आग्रह गरेको छ ।  

त्यसैगरी, साउदी अरबमा पनि युवा समाजसेवी महेश श्रेष्ठले उनीहरुको रक्षा र ब्लड मनि संकलनको लागि पहल गरी रहनु भएको बताइएको छ ।