काठमाडौं– बुधबार बसेको व्यवस्थापिका संसदमा गाडी दुर्घटनाको विषय प्रमुख बन्यो । गत सोमबार काभ्रेमा गाडी दुर्घटना हुँदा २८ जनाको ज्यान गएपछि संसदमा यही विषयमाथि बहस चलेको हो ।
संसदमा सांसदहरुले दिनहुँजसो हुने गाडी दुर्घटनामा यातायात व्यवसायी र सरकारको लापरवाही प्रमुख कारण रहेको बताए ।
सरकारले यातायात व्यवसायीको सिन्डिकेट तोड्न नसक्नु, यातायात व्यवसायीले क्षमताभन्दा बढी यात्रु र सामान राख्नु तथा सरकारले खराब अवस्थाका सडक मर्मत गर्न नसकेकाले नै यात्रुहरुले दुर्घटनामा ज्यान गुमाउनु परेको उनीहरुको भनाइ थियो ।
व्यवस्थापिका संसदको बुधबारको बैठकमा शुन्य र विशेष समय लिएर बोलेका विदुर सापकोटा, सीता नेपाली, प्रेम सुवाल, मानप्रसाद खत्री लगायतका सांसदहरुले सडकको दुरावस्थाका कारण भएका दुर्घटनाको जिम्मा सरकारले लिनुपर्ने बताए । उनीहरुले देशका सबैजसो ग्रामिण भेगमा रहेका सडकहरुको अवस्था निकै नै नाजूक रहेको भन्दै ती सडकको स्तरोन्नति गर्न सरकारले चासो नदिएको आरोप लगाए ।
सांसदहरुले यातायात व्यवसायीहरुले सडकको अवस्था खराब भएपनि पैसाको प्रलोभनमा क्षमताभन्दा बढी यात्रु बोक्ने गरेको र यसमा प्रहरी प्रशासनले आँखा चिम्लिने गर्दा दुर्घटना बढेको आरोप लगाए ।
१ भदाै, २०७३ ।
Comments