काठमाडाैं– शक्तिकेन्द्रमा रहनुको फाइदा शक्तिको उपयोग मात्र होइन, दुरूपयोग पनि हो । उहीले गिरिजाप्रसाद कोइरालाले हाँकेको कांग्रेसमा उनको बोली काफी हुन्थ्यो । मुस्किलले सभापति जितेका शेरबहादुरले अहिले आफूलाई गिरिजापथमा डोर्याउन थालेका छन् । उहिले गगन थापालाई नेविसंघको अध्यक्ष हुनबाट रोकेका गिरिजाको दम्भ अहिले देउवाले देखाउन थालेका छन् ।
यद्यपि, नेविसंघमा कडा भिडन्त हुने नै पक्का भएको छ । नैनसिंह महर र मनोजमणि आचार्यबीच अध्यक्षका लागि भिडन्त हुन लागेको हो । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा ३ सय ६० फर्जी मतदाताको कलह भइरहेको बेला देउवाले जसरी पनि निर्वाचन गराउने दम्भ अघि सारेका छन् । खासगरी रामचन्द्र पौडेल पक्षले असन्तुष्टि जनाए उनीहरू बाहेककै नेविसंघको नयाँ नेतृत्व चयनका लागि देउवाले ठाडो निर्देशन पनि दिएका छन् ।
देउवाले विवाद र तनावकै बीच संघको निर्वाचन प्रक्रिया अघि बढाउने घोषणा गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल समूह असन्तुष्ट बनेको छ । पौडेलले प्रतिनिधि विवाद देखाएर आइतबार अधिवेशन रोक्न सभापति देउवालाई आग्रह गरेका थिए । सोमबार दिनभरि पनि विवाद कायम रह्यो । ‘३ सय ६० मतदाताको कुरामा समस्या आइरहेको थियो। नाम नभएका र नपरेका मान्छे हटाउनुपर्छ भन्ने अडान हामीले राखेका थियौँ’, नेविसंघ पूर्वमहामन्त्री मनोजमणि आचार्यले भने,‘तानाशाही हिसाबले काम हुँदैन, हामी मान्दैनौँ भन्ने अडानकाबीच नयाँ सहमति बनेको छ, चुनावअघि बढ्छ ।’
प्रतिनिधिको विवादका कारण कांग्रेस मुख्यालयमा पौडेल पक्षमा विद्यार्थीमाथि सोमबार प्रहरी पनि लगाएको थियो । खासगरी गृहमन्त्रालय देउवाका खास मान्छे, विमलेन्द्र निधिले सम्हाल्नासात पौडेल पक्षका विद्यार्थीमाथि लाठी चार्ज भएको थियो ।
परिणाम आफ्नो पक्षमा नआउने देखेपछि पौडेल पक्ष निर्वाचन रोक्ने योजनामा लागेको देउवा पक्षले आरोप लगाएको छ भने पौडेल पक्षले संस्थापन पक्षबाट नेविसंघ कब्जा गर्न रातरात फर्जी प्रतिनिधि खडा गरिएको बताएको छ ।
फर्जी मतदाता नामावली नसच्याएसम्म निर्वाचन प्रक्रियामा सहभागी नहुने निर्णय पौडेल पक्षले लिएको थियो । पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा आइतबार बिहान भएको पौडेल पक्षीय भेलाले आमरण अनशनलाई सम्बोधन गर्ने नाममा भागबन्डाबाट आएका ‘गैरविद्यार्थी’ लाई नहटाएसम्म निर्वाचन प्रक्रियामा सहभागी नहुने निर्णय लिएको थियो ।
आमरण अनशन बसेका कुन्दन काफ्ले पक्षका विद्यार्थी र नैनसिंह महरबीच भागबन्डा भइसकेको स्रोतले जनाएको छ । महरले अध्यक्ष लिने र काफ्ले समूहलाई महामन्त्रीसहित सहमहामन्त्री र ४ प्रदेशका उपाध्यक्षसमेत दिन महर राजी भएपछि पौडेलपक्षलाई बायस गरेर अघि बढ्ने योजना बनिसकेको स्रोतले जनाएको छ । त्यसो भए पौडेल प्यानल चुनावमै आएपनि जित्न सक्ने आकलन महर प्यानलले गरेको छ । आजको जनप्रहार साप्ताहिकमा खबर छापिएको छ।
Comments