समाचार

चीन भ्रमणमा रहेका मन्त्री महराको राजनीतिक भेटघाट तीब्र

काठमाडौं, ३२ साउन । प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डको विशेष दूतका रुपमा चीन भ्रमणमा रहेका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आजबाट राजनीतिक भेटवार्तालाई तिव्रता दिने भएका छन् ।
उनले  आज चिनियाँ विदेशमन्त्री याङ यीसँग भेटवार्ता गर्दैछन् । भेटवार्तमा दुई पक्षीय हितका विषयमा छलफल हुने जनाइएको छ ।

उनले भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति र प्रधानमन्त्री सँग समेत भेटवार्ता गर्ने जनाइएको छ । उनीहरुसँगको भेटवार्ताका लागि  नेपालस्थित चिनियाँ राजदूत वु चन्याईले एकजना उच्चस्तरीय नेतासँग प्रयास जारी रहेको जानकारी दिएका छन् ।

महराले चीनमा रहँदा नेपाल–चीन सम्बन्धका सम्पूर्ण पक्षका साथै राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणमा केन्द्रित रहेर सम्बद्ध उच्च अधिकारीहरूसँग छलफल गर्नेछन् । गत साता बसेको मन्त्रिपरिषद बैठकले दुई छिमेकी चीन र भारतमा सम्बन्ध मजबुद बनाउन विशेष दूत पठाउने निर्णय गरेको थियो ।

यसैबीच उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधि प्रधानमन्त्रीका विशेष दूतका रुपमा यसै साता भारत भ्रमणमा जादैछन् । परराष्ट्र स्रोतका अनुसार उपप्रधानमन्त्री निधिको भारत भ्रमणलाई फलदायी बनाउन परराष्ट्रका उच्च पदस्थ कर्मचारीहरु र भारतस्थित नेपाली राजदूतावासले गृहकार्य तीब्र बनाइरहेका छन् ।

३२ साउन, २०७३ ।