समाचार

बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३१ पुग्यो, सेनाको हेलिकोप्टर घटनास्थलमा

काभ्रे– काभ्रेको बिर्तादेउराली–९, खहरेमा बस दुर्घटना हुँदा मुत्यु हुनेको संख्या ३१ पुगेको छ। दुर्घटनामा ३० जना भन्दा बढी यात्रु घाइते भएका छन् । काभ्रेबाट रामेछापका लागि छुटेको बा ३ ख १०६ नम्बरको यात्रुबाहक बस बिर्तादेउराली–९ खहरेमा सोमबार दिउँसो दुर्घटनाग्रस्त भएको हो । 

मृतकको अझै सनाखत हुन सकेको छैन । घाइतेहरुको उद्धारको काम चलिरहेकाले मृतकको संख्या अझै बढ्न सक्ने जनाइएको छ । घाइतेहरुको उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र स्थानीइ खटिएका छन् । 

घटनाबारे जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय काभ्रेले पाँचवटा एम्बुलेन्स घटनास्थलमा पठाइएको जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्रनाथ बास्तोलाले जानकारी दिए। 

घाइतेहरुलार्इ उपचारका लागि काठमाडौं ल्याउने तयारी भएको छ । साघुँरो र कच्ची सडक भएको तथा क्षमता भन्दा बढी यात्रु राखेकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।  दुर्घटनास्थल काभ्रे सदरमुकामबाट झन्डै ५० किलोमिटर दूरीमा पर्दछ। 

उद्धारका लागि सेनाको हेलिकोप्टर पठाइयो
खहरेमा भएको बस दुर्घटनामा घाइते भएकाहरुको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पठाइएको छ। गृह मन्त्रालयका अनुसार बस दुर्घटनामा ३५ जना यात्रु घाइते भएको र उनीहरुको उद्धारका लागि नेपाली सेनाको सवैभन्दा ठूलो एमआइ १७ हेलिकोप्टर घटनास्थल पठाइएको छ। 

दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि काठमाडौं ल्याइँदैछ। गृह प्रवक्ता यादवप्रसाद कोइरालाले घाइते सबैलाई हेलिकोप्टर ल्याण्ड हुन सक्ने स्थानमा राख्न निर्देशन दिइएको बताए। उनले हेलिकोप्टरले काठमाडौं विमानस्थल ल्याइ पुर्याउनासाथ अस्पताल लैजानका लागि विमानस्थलमा एम्बुलेन्स तयारी अवस्थामा राखिएको जानकारी दिए।