समाचार

गैरआवासीय नेपाली संघ : दोस्रो दशकको यात्राः


‘एनआरएनए भिजन २०२० एण्ड बियोण्ड’

प्रदिप थापामगर
प्रवासमा नेपाली

गैरआवासीय नेपाली संघ (एनआरएनए) सन् २००३ मा स्थापना भएको प्रवासी नेपालीहरुको साझा संस्था हो । यहिँ अगष्ट २७ र २८ तारिखमा संघको ९औं क्षेत्रीय सम्मेलन अमेरिकाको न्यूजर्सीस्थित नेवार्क शहरको डबलट्री हिल्टन होटेलमा हुँदैछ । सम्मेलनको नारा ‘सन् २०२० र त्यसपछिको कार्यदिशा’ (एनआरएनए भिजन–२०२० एण्ड बियोण्ड) रहेको छ । यतिखेर संघको झण्डै डेढ दशक लामो यात्रामा संघले हाँसिल गरेका उपलब्धिहरुको लेखाजोखा गर्नु सान्दर्भिक देखिन्छ ।


विश्वका ७३ मुलुकहरुमा संघको राष्ट्रिय समन्वय समितिहरु स्थापित छन् भने ५० हजारभन्दा सदस्यहरु छन् । विश्वभर एनआरएनहरुको संख्या ३० देखि ४० लाख रहेको अनुमान गरिन्छ । नेपालको राष्ट्रिय जनगणना सन् २०११ अनुसार विदेशिएका नेपालीको संख्या १९ लाख २१ हजार ४९४ रहेको छ । अमेरिकामा एनआरएनहरुको संख्या २ देखि ३ लाख अनुमान गरिन्छ । तर सन् २०१० को अमेरिकी जनगणनाअनुसार ५९ हजार ४९० रहेको छ । प्रवासी नेपालीहरुको अर्को पाटो, एनआरएनको रुपमा नगनिने सार्क मुलुकभित्रका सवा करोड भारतीय नेपाली र साढे दुई लाख भुटानी नेपाली रहेका छन् । उनीहरुको कथा ब्यथा अर्कै छ ।

अभियान र उपलब्धि
“एक पटकको नेपाली सधैंको नेपाली“

संघले स्थापना कालदेखि अघि सारेको ‘एक पटकको नेपाली सधैंको नेपाली’ अभियानसँगै ‘दोहोरो नागरिकता’, ‘नागरिकताको निरन्तरता’ हुँदै अहिले ‘नेपालका लागि नेपाली’मा रुपान्तरण भएको छ । यो अभियानको सबैभन्दा महत्वपूर्ण र दूरगामी उपलब्धि ‘नेपालको संविधान २०७२’ मा प्रवासी नेपालीहरुलाई गैरआवासीय नेपाली नागरिकता प्रदान गर्न सकिने ब्यबस्था हो । एनआरएन अगुवाहरु र बिभिन्न देशमा बसोबास गर्ने एनआरएन नेपालीहरुको निरन्तर मागको फलस्वरुप नेपालका राजनीतिक दलहरु नेपालको नयाँ संविधानमा प्रवासी नेपालीहरुलाई गैरआवासीय विदेशी नागरिकता दिन सहमत भएका हुन् ।

गैरआवासीय नेपाली नागरिकता
‘नेपालको संविधान–२०७२’ को भाग दुईको ‘नागरिकता’ शीर्षकअन्तर्गत धारा १४ मा ‘गैरआवासीय नेपाली नागरिकता प्रदान गर्न सकिने’ शीर्षकमा भनिएको छः ‘बिदेशी मुलुकको नागरिकता प्राप्त गरेको दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्रबाहेकका देशमा बसोबास गरेको साबिकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रहिपछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई संघीय कानून बमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नेपालको गैरआवासीय नागरिकता प्रदान गर्न सकिनेछ ।’
नेपालको नयाँ संविधानमा माथि उल्लेखित गैरआवासीय नागरिकतासम्बन्धी ब्यबस्थाले एनआरएनहरुको भावी पुस्तामा दूरगामी प्रभाव पार्ने पक्का छ । यो प्रावधानले मुटुमा नेपाल सजाएर हिड्ने एनआरएन नेपालीहरु र नेपालमै नजन्मेका तिनका सन्तान भावीपुस्तालाई नेपाली साईनोमा बाँधी राख्ने छ ।

‘ब्रेन ड्रेन’ होईन ‘ब्रेन गेन’
संघको अहिलेको मूलमन्त्र ‘नेपालका लागि नेपाली’ (फर नेपाली, बाई नेपाली)को मुख्य लक्ष्य भनेको प्रवासी नेपालीहरुको दक्षता, सीप र लगानीलाई नेपालमा आकर्षित गर्ने, भित्र्याउने वा उपायोग गर्ने हो । त्यसको थालनी पछिल्लो दशकमा तीब्र बनेर गएको छ । नेपालका ‘बेष्ट र ब्राइटेष्ट’ (उत्कृष्ट र चम्किला) प्रतिभाहरु विदेश पलायन हुने अवस्थालाई ‘ब्रेन ड्रेन’ (बौद्धिक पलायन) होइन ‘ब्रेन गेन’ (बौद्धिक उपलब्धि) ठान्ने सकारात्मक मान्यताको विकास भईसकेको छ । प्रवासमा सिकेको ज्ञानलाई नेपालको विकासमा लगानी गर्ने वातावरण सरकारले सृजना गर्ने हो भने एनआरएन नेपालीहरुको ठूलो संख्या नेपाल फर्किन सक्ने अवस्था छ । डायस्पोरा नेपालीले नेपाली साहित्यको प्रवद्र्धनमा खेलेको भूमिका एकातिर छ भने जलबिद्युत्, उद्योगधन्दा, शिक्षा, पर्यटन, कृषि, स्वास्थ्यलगायतका क्षेत्रमा प्रवासमा कमाएको धनलाई नेपालमा लगानी गर्ने अभियान नै शुरु भैसकेको छ ।

नेपालमा रेमिट्यान्स
प्रवासी नेपालीहरुले पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्र धानेको भन्ने कुरालाई कसैले अस्वीकार गर्न सक्दैन । नेपाल रेमिटर्स संघका अनुसार प्रवासी नेपालीहरुले नेपालको कुल ग्रायस्थ उत्पादनको २५ प्रतिशत रेमिट्यान्सबाट थेगेको उल्लेख गरेको छ । नेपाल सरकारले १०९ देशहरुमा रोजगारीको ढोका खुल्ला गरेको छ भने विदेशमा पुगेका नेपालीहरुको संख्या १९ लाख नाघेको सरकारी तथ्याङ्कले देखाउँछ ।

एनआरएन लगानी
नेपालमा जलविद्युत्, उद्योगधन्दा, शिक्षा, पर्यटन, कृषि, स्वास्थ्यलगायतका क्षेत्रमा एनआरएन लगानी अभियान शुरु भैसकेको छ । आर्थिक पत्रकार संघ नेपाल (सेजोन) ले सन् २०१४ मा गरेको ९ जिल्लाहरुमा एनआरएन लगानी सर्वेक्षणअनुसार काठमाडौं, ललितपुर, भक्तपुर, गोरखा, मकवानपुर, बाग्लुङ, सिराहा, चितवन र कास्की जिल्लाहरुमा नेपाली रुपैयाँ २९,८५५ मिलियन बराबरको एनआरएन लगानी रहेको र त्यसबाट ८ हजार २७६ जनालाई रोजगारी मिलेको उल्लेख छ ।
संघका अगुवाहरुको पहलमा काठमाडौंमा स्थापना गरिएको ‘एनआरएन इन्भेष्टमेण्ट लिमिटेड’को आ.ब. ७१÷७२ मा चुक्तापूँजी ५५ करोड, १४ लाख, १२ हजार ९०० रुपैयाँ रहेको छ । कम्पनीले लम्जुङ जिल्लाको दोर्दी खोला जलबिद्युत् परियोजना (२७ मेगावाट) निर्माणमा २९ करोड, ८८ लाख, ६० हजार रुपैयाँ लगानी गरेको जनाएको छ ।
कम्पनीमा बेल्जियम, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, जर्मनी, ग्रीस, इटाली, नर्वे, पोर्चुगल, रसिया, स्विजलरयाण्ड, चीन, सिङ्गापुर, जापान, कोरिया, यूके, अस्ट्रेलिया, क्यानाडा, चिले, हङकङ, न्यूजिल्याण्ड, अमेरिका, इजरायल, नाइजेरिया, ओमन, कतार, रुवान्डा, साउदी अरब, साउथ अफ्रिका, तान्जानिया, युएई, युगान्डा र जाम्बियाबाट ७८३ एनआरएन शेयर होल्डर लगानीकर्ताहरु रहेका छन् ।

एआरएन च्यारिटी (परोपकारिता)
विश्वभरका प्रवासी नेपालीहरुले आफूले स्थापना गरेका संघसंस्थाहरु, नेपालमा क्रियाशील एनजिओ वा आफ्नो गाउँठाउँमा व्यक्तिगत रुपमा निरन्तर अनुदान गर्दै आएका छन् । यसरी गरिएको अनुदानको निश्चित तथ्याङ्क पाउन नसकिए पनि वर्षेनी करोडौं नेपाली रुपैयाँ बराबरको अनुदान भित्रिने गरेको सजिलै अनुमान लगाउन सकिन्छ । संघको स्ट्राटेजिक रिभ्यू रिपोर्ट २०१४ का अनुसार सन् २०११ देखि मात्रै एनआरएन वेलफेयर फण्ड अन्तर्गत १५० वटा च्यारिटी प्रोजेक्ट पूरा गरिएको र त्यसका लागि नेपाली रुपैयाँ ७४ मिलियन अनुदान लगानी गरिएको जनाईएको छ ।
प्रवासी नेपालीहरुले स्वास्थ्य शिविर सञ्चालन, छात्रवृत्ति प्रदान, विद्यालय भवन, पुस्तकालय, स्वास्थ्य चौकी, अस्पताल, बृद्धाश्रम, मठ–मन्दिर निर्माणलगायतका सेवामूलक कार्यमा अनुदान लगानी गर्दै आएका छन् । संघका अध्यक्ष शेष घले र श्रीमती जमुना गुरुङले एक अर्ब रुपैयाँको परोपकारी कोष स्थापना गरेका छन् । घले दम्पतिले उक्त कोषको रकम शिक्षा र स्वास्थ्य क्षेत्रमा खर्च गर्ने जानकारी गराएका छन् । यसरी आफ्नो नाममा वा आफ्ना आमा–बाबा वा गाउँठाउँको नाममा च्यारिटी कोष–फाउण्डेशन स्थापना गरी परोपकारी कार्य गर्ने एनआरएन नेपालीहरु विश्व भरी नै सयौंको संख्यामा छन् । उनीहरुको अनुदान रकमको सही तथ्याङ्क संकलन संघले गरिसकेको छैन ।

महाभूकम्पपछि एनआरएन राहत र पुनर्निर्माण कार्य
संघले नेपालमा सन् २०१५ को अप्रिल २५ तारिख गएको महाभूकम्पको लगत्तै बिभिन्न राहत वितरण कार्य सम्पन्न गरेको थियो । संघले नेपाली ३ करोड ७० लाख १३ हजार रुपैयाँ बराबरको अनुदान राहत प्रदान गरेको थियो । भूकम्प प्रभावित ८ जिल्लाका १७ हजार परिवार उक्त राहतबाट लाभान्वित भएको कुरा संघले आफ्नो रिपोर्टमा जनाएको छ ।
महाभूकम्पबाट ८ हजार ८ सय ८१ जनाको मृत्यु र २२ हजार ३ सय ३ जना घाइते भएको नेपाल सरकारले जनाएको छ भने ६ लाख २ हजार ५ सय ६७ घर पूर्ण रुपमा ध्वस्त भएका छन् । राष्ट्रिय योजना आयोगका अनुसार भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचनाहरुको पुनर्निर्माणमा नेपाली रुपैयाँ ६ खर्ब ६९ अर्ब लाग्ने जनाएको छ । यता एनआरएनएले भूकम्प पूनर्निमाणको लागि ३५ करोड रुपैयाँ संकलन गरी एक हजार घर निर्माण गर्ने अभियान शुरु गरेको छ ।
नेपाल सरकार र संघबीच गत बैशाख १२ गते २०७३ मा भएको वस्ती निर्माण सम्झौताअनुसार संघले आगामी दुई वर्षभित्र महाभूकम्पको शुरुवात बिन्दु क्षेत्र गोरखा जिल्लाको लाप्राक गाउँको गुम्सीपाखामा ३२६ रोपनीमा ६१२ भूकम्प प्रतिरोधक नमुना घरहरु निर्माण गर्ने जनाएको छ भने प्रति घर २ लाख ५० हजार रुपैयाँ लागत लाग्नेछ । सरकारी तथ्याङ्कअनुसार लाप्राक गाउँका ६ सय १२ घरधुरी भूकम्पबाट प्रभावित भएको छ । संघले बाँकी ४०० घर सिन्धुपाल्चोक जिल्लामा निर्माण गर्ने जनाएको छ ।

‘एनआरएनए भिजन २०२० एण्ड बियोण्ड’
संघको ९औं क्षेत्रीय सम्मेलनको नारा ‘सन् २०२० र त्यसपछिको कार्यदिशा’ले अव संघको ध्यान अल्पकालिन कार्ययोजनाहरुमा भन्दा दीर्घकालिन परियोजनाहरुको परिकल्पना र तर्जुमा गर्नतिर गएको स्पष्ट संकेत गर्दछ । संघले नेपालको नयाँ संविधानमा नागरिकताको निरन्तरता गर्न पाउने, राजनीतिकबाहेकको गैरआवासीय नेपाली नागरिकता ब्यावस्था गर्न सफल भएपछि अब सांस्कृतिक र आर्थिक मुद्दामा आफूलाई केन्द्रित गर्ने देखिएको छ । संघको ‘नेपालका लागि नेपाली’ भन्ने वर्तमान नाराले मातृभूमि नेपाललाई सक्दो योगदान पु¥याउने स्पष्ट दिशानिर्देश गर्दछ । नेपाल र नेपाली जनताप्रति प्रवासी नेपालीहरुको नातालाई युगयुगान्तरसम्म निरन्तर सुमधुर र गाढा राख्न संघले भिजन २०२० र त्यस उपरान्तका वर्षहरुको कार्यदिशा र नीति तय गर्नु जरुरी देखिन्छ ।