समाचार

न्यायाधीश नियुक्तिको छिनोफानो आज

काठमाडौं– सर्वोच्च अदालतका प्रस्तावित ११ न्यायाधीशको नियुक्ति प्रक्रियाको अन्तिम टुंगो आइतबार लाग्ने भएको छ । संसदीय सुनुवाइ विशेष समितिको आइतबार बिहान हुने बैठकले प्रस्तावित न्यायाधीशका बारे अन्तिम निर्णय गर्नेछ । गत बुधबार र बिहीबार समितिले प्रस्तावित न्यायाधीशको सुनुवाइ पूरा गरे पनि निर्णय भने गरेको थिएन । शुक्रबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा परेकाले समितिको बैठक स्थगन भएको थियो । आइतबार बस्ने बैठकले प्रस्तावित ११ न्यायाधीशको बारेमा आफ्नो निर्णय गर्ने भएको हो ।
आइतबारकै बैठकमा २२ मुलुकका लागि प्रस्तावित राजदूतका बारेमा समितिलाई प्राप्त गोप्य उजुरी खोलिने तथा ती उजुरी समितिका सबै सदस्यलाई अध्ययनार्थ वितरण गर्ने कार्यसूची निर्धारण गरिएको संसदीय सुनुवाइ विशेष समितिले जनाएको छ ।
उजुरी अध्ययनपछि समितिले प्रस्तावित राजदूतहरूका बारे सुनुवाइ थाल्ने बताइएको छ ।

१६ साउन, २०७३ ।