धनकुटा । धनकुटाको सिधुवा बजारनजिक भएको बस दुर्घटनामा १५ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३१ जना घाइते भएका छन् । संखुवासभाको मुढेशनिश्चरेवाट धरान जँँदै गरेको बा.२.ख ७३६६ नम्बरको बस दिउँसो करिब १२ बजे धनकुटाको परेवादिन–५ स्थित चर्चघुम्तीमा पल्टिएको हो । बाक्लो हुस्सुसहित पानी परेकाले दुर्घटना भएको प्रहरीले जनाएको छ । घुम्तीमा मोड्ने क्रममा बस सडकबाट करिव एक सय मिटर तल खसेको थियो ।
दुर्घटनामा माओवादी केन्द्रका धनकुटा अध्यक्षसमेत रहेका पूर्व अर्थराज्यमन्त्री हरिराज खेवा सहित ज्यान गुमाउनेको संख्या १५ पुगेको हो । मृत्यु हुनेमध्ये ७ जनाको घटनास्थलमा र ८ जनाको उपचारका क्रममा अस्पतालमा निधन भएको हो । बिराटनगर स्थित नोवेल मेडिकल कलेजमा उपचारका क्रममा गएराति धरान–१७ का चेत बहादुर मगरको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १५ पुगेको हो ।
धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा धनकुटा बुढिमोरङ्गका सनम तामाङ्ग, मारेककटहरेका वीर बहादुर काफ्ले, लेगुवाका टेज बहादुर थापा, तेह्रथुम फुलेकका होमा पौडेल, संखुवासभा मादीका टंक कटुवाल र संखुवासभा आँखीभुईका खगेन्द्र कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै धनकुटा परेवादिनका अतिमाया तामाङ्ग, खिनमाया भट्टराई, तारा बस्नेत, उनकी ३ बर्षिय छोरी रेखा बस्नेत र धरानका वेत प्रकाश अग्रवालको घटनास्थलमै मृत्यु भएको हो । घटनास्थलमै मृत्यु भएका एक र उपचारका क्रममा मृत्यु भएका एक गरी दुई पुरुषको सनाखत हुन वाँकी छ ।
आठ जना मृतकको शव धरान र सात जना मृतकको शव धनकुटामा राखिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । दुर्घटनामा घाईते भएका २९ जनाको धरान र ५ जनाको बिराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
१४ साउन, २०७३ ।
Comments