समाचार

बाढी–पहिरोबाट मुलुकभर ठूलै जनधनको क्षति

तीन दर्जन बढीको ज्यान गयो, केही अझै वेपत्ता
काठमाडौं । केही दिनयता परेको अविरल वर्षापछि देशैभर आएको बाढी पहिरोमा परि ३६ जनाभन्दा बढीको मृत्यु भएको छ । २४ जना बढी बेपत्ता छन् । गृह मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरी केही दिनदेखि परेको अबिरल वर्षाका कारण आएको बाढी, पहिरोका कारण  २८ जनाको मृत्यु हुनुका साथै २४ जना बेपत्ता भएको जानकारी दिएको भएपनि बुधबारसम्म ज्यान गुमाउनेको संख्या ३६ नाघेको छ ।
प्यूठानमामात्रै ज्यान गुमाउनेको संख्या २० पुगेको छ । गुल्मीमा पाँच, पाल्पामा चार, बाग्लुङमा चार, मकवानपुरमा तीन, रुपन्देहीमा दुई र काठमाडौँ, अर्घाखाँची, दोलखा र सर्लाहीमा एक÷एक जनाको मृत्यु भएको छ ।
विपद्कै कारण प्यूठानमा १९, बाग्लुङमा दुई, सुनसरी, सप्तरी र झापामा एक÷एक जना बेपत्ता भएको मन्त्रालयका सहायक प्रवक्ता झंकनाथ ढकालले जारी गरेको  विज्ञप्तिमा उल्लेख छ । बाढीपहिरोको कारण गुल्मीमा तीन, काठमाडौँमा दुई, बाग्लुङमा दुई र प्यूठान, दोलखा र अर्घाखाँचीमा एक÷एकजना घाइते भएको गृहमन्त्रालयले जनाएको छ ।
विपद्का कारण ७५ घर पूर्ण रुपमा र दुई घर आंशिकरुपमा क्षति पुगेको, तिनाउ नदीमा आएको बाढीले ठूलो झुलुङ्गे पुल बगाएको, मोरङमा रङ्गेलीबाट उर्लाबारी जाने पक्की पुल बगाएको छ । नारायणी नदीमा पानीको सतह खतराको तहसम्म पुगेको हुँदा चितवन र नवलपरासी जिल्लाका तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन गृहले अनुरोध गरेको छ ।

घटनाको जानकारी हुनासाथ सुरक्षा निकायका नजिकका इकाई र जिल्ला सदरमुकामबाट समेत उद्धार टोली तत्कालै ती स्थानमा परिचालित भई खोज तथा उद्धार कार्य भइरहेको मन्त्रालयले जनाएको छ ।
आइतबाररातीदेखि परेको अविरल वर्षाले सबैभन्दा बढी प्यूठानमा क्षति भएको छ । दर्जनौ बस्तीहरु पहिरोको जोखिममा छन् भने तराईका दर्जनौं बस्तीहरु डुबानमा परेका छन् । सप्तकोशी, नारायणी, राप्ती, कालीगण्डकी, सेती, झिमरुक नदी आसपासका बस्तीहरु जोखिममा छन् । बाढीपहिरोले देशका राजमार्गका विभिन्न ठाउँहरु अवरुद्ध भएका छन् ।

प्युठानको लुङ गाविस–६, बाहाने बजारस्थित घरहरु पहिरोमा पुरिएका हुन् । पहिरोले घरहरु पुरिँदा स्थानीय शोभा रिजाल, २५ वर्षीया काली परियार, ११ वर्षका प्रेम थापा, ४० वर्षकी रन्जना केसी तथा १२ वर्षकी सुशीला केसीको मृत्यु भएको छ । ध्वजबहादुर पुनको घर पहिरोमा पुरिँदा उनको घरमा डेरा गरी बस्ने एक ११ वर्षीय बालकको ज्यान गएको छ । यस्तै, प्युठानकै पुजा गाविस–१ मा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । रजवाराका निवासी सुपारी मल्ल र मुकेश मल्लको घरमा पुरिएर मृत्यु भएको हो । प्युठानकै खवाङ गाविसमा पनि पहिरोमा पुरिएर ३ जनाको मृत्यु भएको छ ।
यस्तै प्युठानको अर्खा गाविसमा पहिरोले घर गोठ बगाउँदा ८ जना बेपत्ता भएको स्थानीयवासीले जनाएका छन् । प्
युठानस्थित झिमरुक नदीले बगाएर ल्याएका ५ वटा शव भेटिएको प्रहरीले जनाएको छ । नदीले बगाएर ल्याएका शवहरुको सनाखत भएको छैन ।
प्युठान नगरपालिका–१३ सापडाँडामा ४ वटा घर भत्किएका छन् भने स्याउलीवाङ–५ मा पहिरोका कारण डेढ दर्जन घर उच्च जोखिममा छन् । अर्खा–६ मा पनि ३० घर पनि उच्च जोखिममा छन्  ।

गुल्मीमा ५ जनाको मृत्यु
अविरल वर्षापछि पहिरोले घर पुरिदा गुल्मीमा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । गुल्मीको हस्तिचौर गाविस १ मल्दीमा एकै परिवारका ३ जनाको मृत्यु भएको छ भने बिसुखर्क गाविसमा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
हस्तिचौर गाविस १ मल्दीको घटनामा स्थानीय ४९ वर्षीया तुलसी  दर्जी, उनकी  आमाजु ६२ वर्षीया कालीका दर्जी तथा बुहारी १९ वर्षीया अस्मिताको मृत्यु भएको छ । गुल्मीको बिसुखर्कमा गोपाल रानाका ८ वर्षीय छोरा सुजन र ६ वर्षीय छोरी सिमानाको पहिरोमा परि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख भोला रावलले जानकारी दिए ।
बागलुङ–गुल्मी जोड्ने ग्वालीचौरको झोलुङ्गे पुलसहित दर्जनौ पुल पनि बगाएको छ । दर्जनौ घर जोखिममा छन् । बुर्तिबाङ र आसपासका डेढ दर्जन भन्दा बढी लघु जलबिद्युत आयोजना अवरुद्ध बनेका छन् ।

काठमाडौं र भक्तपुरका विभिन्न ठाउँ डुबानमा

लगातार परेको वर्षाका कारणले काठमाडौंको बाग्मती नदी किनारका विभिन्न बस्तीहरु तथा भक्तपुर र मध्यपुरथिमि नगरपालिका क्षेत्रका विभिन्न भाग डुबानमा परेका छन् । हनुमन्ते खोलामा आएको बाढी बस्तीमा पसेपछि भक्तपुरको मध्यपुर थिमिका कमेरोटार, राधेराधे, निकोसेरा, दुवाकोट मोड, सिर्जननगर र सल्लाघारी क्षेत्रका सयौँ घर डुबानमा परेका हुन् ।
त्यसैगरी, भक्तपुरका जगाते, हनुमानघाट, बाराही क्षेत्र आसपासका घर, सिद्धिस्मृति प्रतिष्ठान, शान्ति निकेतन माविलगायत विभिन्न विद्यालय समेत डुबानमा परेका छन् ।

सदनमा बाढीपहिरोको जानकारी मागियो
अविरल वर्षाले देशभरका विभिन्न भूभाग डुबान र पहिराको उच्च जोखिम परेका भन्दै सदनमा बाढीपहिरोको जानकारी माग गरिएको छ । मंगलबारको ब्यवस्थापिका संसदको विशेष समयमा बोल्दै सांसदहरुले बाढी पहिरोको क्षतिबारे जानकारी माग गरेका हुन् ।
सदन सरकार गिराउन र बनाउन व्यस्त रहेको भन्दै बाढीपहिरो, डुबानपीडित जनताबारे बेखबर रहेको भन्दै आलोचना पनि गरिएको थियो ।
१२ साउन, २०७३ ।