समाचार

बाढी र पहिरोले कहाँ के भयो ? दर्जन बढीको मृत्यु

काठमाडौं । केही दिन यता परेको अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ । बाढी र पहिरोमा परी दर्जन बढीको ज्यान गएको छ । बाढीले ठाउँठाउँमा पुल बगाउदा आवागमनमा समस्या परको छ । त्यस्तै, गाउँका वस्ती वस्तीमा बाढी पसेपछि कोही विस्थापित भएका छन् भने केहीका उद्धार जारी रहेको छ । 

पहिरोमा परी गुल्मीमा पाँचको मृत्यु 
अविरल वर्षासँगै गएको पहिरोले पुरिएर गुल्मीमा पाँच जनाको ज्यान गएको छ । यसरी ज्यान जानेमा गुल्मीको हस्तिचौर गाविस एक मल्दी निवासी एकै परिवारका ६२ वर्षीया कालीका दर्जी, ४९ वर्षीया तुलसी दर्जी र १९ वर्षीया अस्मिता दर्जी रहेका छन् । 

त्यसैगरी, बिसुखर्क गाविस–९ मा पहिरोले पुरिएर गोपाल रानाका ८ वर्षीय छोरा सुजन राना र ६ वर्षीया छोरी सिमाना रानाको समेत ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक भोला रावलले जानकारी दिनुभएको छ । पहिरोमा पुरिएर हस्तिचौरका ५० वर्षीय विष्णु सारु घाइते बनेका छन् । अहिले पनि घरमाथिबाट पहिरो खसिरहेका कारण पहिरोमा पुरिएका विसुखर्कका राना परिवारको उद्धार गर्न समस्या परेको प्रहरीले बताएको छ । 

बजार क्षेत्रका मानिस त्रासका कारण घरका सामान सुरक्षित स्थानमा सार्न थालेका छन् । बाढीले बम्घामा एक हल गोरु र एउटा गाई समेत बगाएको छ । विगत ५५ वर्षपछि गुल्मीमा यति ठूलो बाढी आएको स्थानीयले बताएका छन् । बाढीले हजारौँ रोपनी फाँट समेत डुबानमा पारेको छ । बाढी र पहिरोका कारण गुल्मीमा एक दर्जनभन्दा बढी घरगोठमा समेत क्षति पुगेको बताइएको छ । 

 मकवापुरमा ३ जनाको ज्यान गयो 
यसैबीच, मकवानपुर जिल्लाको भीमफेदी गाविस–५ सोला भञ्ज्याङमा मंगलबार विहान ४ बजे पहिरो जाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । 
मृत्यु हुनेमा २५ वर्षीय टेकबहादुर रुम्बालामा, उनकी श्रीमती २३ वर्षीया पार्वती रुम्बालामा र उनका छोरा ५ वर्षीय विकास रुम्बालामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

प्युठानमा चार जनाको मृत्यु
प्युठानको लुङ गाविस–६ मा शिशिर रिजालको घर पहिरोले भत्काउँदा उनकी श्रीमती शोभा रिजालको मृत्यु भएको छ । पहिरोले घर भत्काएपछि शोभाको उद्दार गर्नखोज्दा मृत्यु भएको थियो भने परिवारका अन्य सदस्य भाग्न सफल भएका थिए । 

यसैगरी, बागदुला पुलमुनि अन्दाजी १२ वर्षीया अज्ञात बालिकाको शव फेला परेको र कार्कीडाँडा पक्की पुलमुनि झिमु्रक खोलाको माझमा पनि एक बेवारिसे शव फेला परेको छ । खैरा झोलुङ्गे पुलमुनि अर्को एक शव पनि फेला परेको छ । त्यस्तै, झिमु्रक नदीको खैरामा बुटवल पावर कम्पनीको ड्याम साइटमा पनि अर्को एक बेवारिसे शव फेला परेको प्रहरी नायब उपरीक्षक रञ्जीतसिंह राठौरले जानकारी दिए ।  यस्तै, लुङ–६ मा डेरा गरी बस्ने काली विकको ज्यान गएको छ । 

त्यस्तै स्थानीय पवित्रा पुन वेपत्ता भएकी छन् । खवाङ–७ राजवारा र अर्खा गाविसमा एक दर्जन घरमा क्षति भएको छ । झिमु्रक नदीमा पछिल्लो १४ वर्ष यताकै ठूलो बहाव भएको बुटवल पावर कम्पनी दारिमचौरले जनाएको छ । नदीमा अत्यधिक बहाव बढेकाले दुई दिनदेखि बुटवल पावर कम्पनीको उत्पादन बन्द भएको छ ।  त्यस्तै, रजवारा गाविसमा स्थानीयले निर्माण गरेको थाराखोला लघु जलविद्युत् आयोजना, तिखाचुली लघु जलविद्युत् आयोजना र सिरिङ खोला जलविद्युत् आयोजना बगाएको छ । अर्खा गाविसमा पनि तीनवटा लघु जलविद्युत् आयोजना बाढीले बगाएको जनाइएको छ । 

पोखरामा एक बेपत्ता, तीन दर्जनभन्दा बढी घर डुबान
सोमबार साँझदेखि परेको भीषण वर्षासँगै आएको बाढीले कास्कीको हेम्जामा बालुवा निकाल्ने क्रममा एक महिलालाई सेती नदीले बगाएर बेपत्ता भएकी छन् ।  सेती नदीमा आएको बाढीले तीन दर्जनभन्दा बढी घर डुबानमा परेका छन् । 

म्याग्दी घर भई हेम्जामा बस्दै आएकी ४० वर्षीया मोतीकला छन्त्याललाई सोमबार साँझ सेती नदीले बगाएको र उनको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  सेती नदीमा आएको भीषण बाढी पोखराको रामघाटमा थुनिँदा सुकुम्बासी बस्तीका छ घर डुबानमा परेका छन् । प्रहरीले रातिनै उनीहरुलाई सुरक्षित स्थानमा सारेको थियो ।  

यस्तै, पोखराको कस्केरीमा रहेका २० वटा सुकुम्बासीका घर पनि डुबानमा परेका छन् । त्यस्तै, कास्कीको पार्चे गाविसमा मादी नदीले दुईवटा व्यक्तिगत घर र एउटा सामुदायिक क्लिनिक समेत बगाएको छ । सो ठाउँका वलसिंह भुजेल र आसबहादुर भुजेलको घर बगाएपछि उनीहरु नजीकको दूध पोखरी माध्यमिक विद्यालयमा बसेका छन् ।  त्यस्तै, पोखराको छोरेपाटनमा दुई घर डुबानमा पर्नुका साथै १२ घरमा पानी पसेको बताइएको छ । 

इटहरीका सत्र सय घर डुबानमा, एकको मृत्यु 
केही दिन अघिदेखिको अविरल परेको झरीले सुनसरी जिल्लाका ११ गाविस, तीन नगरपालिका र एक उपमहानगरपालिकाको एक हजार ७०० घर डुबानमा परेका छन् । वर्षाले जिल्लाको नरसिंह गाविसको वडा नम्बर ३, ४, ५, ६ र ७ मा अविरल परेको वर्षाले जलमग्न भई ७० घरभन्दा बढी बस्ती डुबानमा परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । 

यसैगरी, छिटाहाको विभिन्न वडामा २५ घर साहेबगञ्ज गाविसको ७, ८ र ९ मा ५४ घर र घुस्की–४ मा थप ९ घर डुबान परेकाले ती डुबानमा परेकालाई सुरक्षित स्थानमा तथा आफन्तकोमा बसोबासका लागि प्रहरीले सहयोग गरेको पनि जिल्ला प्रहरी कार्यालय सुनसरीले बताएको छ । 

सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोख्रेलले सप्तकोसी नदीमा अहिले बिहान ८ बजेको समयमा दुई लाख ४३ हजार ७७४ क्युसेक प्रतिसेकेन्ड बाढीको बहाव रहेको कोसी ब्यारेजमा मापन केन्द्रले जानकारी दिएको छ । 
सुनसरीको बराहक्षेत्र–१ मा स्थानीय दूधखोलामा आएको बाढीले बगाई सप्तकोसी नदीमा पु¥याएकाले इटहरी उपमहानगरपालिका–१ आइतबारे निवासी १७ वर्षीया सुशीला कार्की बेपत्ता भएकी छिन् । उनको खोजी भइरहेको छ । 

उनीसँगै बगेका भोजपुर जिल्लाको मानेभञ्ज्याङ–५ निवासी ज्ञानेन्द्र पराजुलीको भने स्थानीयवासी र प्रहरीले जीवितै उद्धार गरी स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको पनि जिल्ला प्रहरी कार्यालय सुनसरीले बताएको छ । 

तिनाउ नदीको बाढीले पुल बगायो
रातभर परेको अविरल वर्षाका कारण तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल बगाएको छ ।  देवीनगर र बुद्धनगर जोड्ने झोलुङ्गे पुल आज बिहान किनारको जमिन नदीले कटान गर्दै जाँदा ढलेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी वरिष्ठ उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए । 

सोमबार रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले नदी किनारका बस्ती जोखिममा परेको र उद्धारमा खटिएका प्रहरी जाँदै गर्दा पुल भत्किएपछि वडा प्रहरी कार्यालय बुटवलका प्रहरी हरिनारायण चौधरी पुलसँगै खसेर घाइते भएका छन् । 

तिनाउमा आएको अनियन्त्रित बाढी घरका पक्की पर्खाल, जाली र ठोकर भत्काएर बस्तीमा पसेको हो । बाढीबाट तिनाउ किनारमा रहेका १६ टोलका छ हजार बढी व्यक्ति जोखिममा रहेको अनुमान छ ।  पुल बगाउँदा उपमहानगरपालिकासँग तिनाउपारिका बस्ती जोड्ने प्रमुख माध्यम अवरुद्ध भएको छ । यसबाट बुटवल आवतजावत गर्न बुटवलका मोतीपुर, सेमलार, फर्साटिकर लगायत क्षेत्रका जनता प्रभावित हुने भएका छन् । 

बाढीले नदी किनारको जमिन कटान गर्न थालेपछि सो क्षेत्रका बस्तीमा त्रास उत्पन्न भएको छ । बस्तीका सर्वसाधारण नदी कटान हुने डरले घरबाट सरसामान निकालेर अन्यत्र सरेका छन् । 

बडिगाडखोलाले झोलुङ्गे पुल बगायो
यसैबीच, गुल्मीको मुसिकोट गाविस र वामी गाविसबीच जोड्ने झोलुङ्गे पुल बडिगाड खोलाले बगाएको छ ।  मुसिकोट गाविस–६ ताल्तुङ र वामी गाविस–१ को सुदीमा रहेको झोलुङ्गे पुल अविरल वर्षासँगै बडिगाड खोलामा आएको बाढीले आज बिहान उक्त झोलुङ्गे पुल बगाएको स्थानीय समाजसेवी जनकबहादुर खत्रीले जानकारी दिए । 

यस झोलुङ्गे पुल हुँदै गुल्मी तथा बागलुङका गरी झन्डै एक दर्जनभन्दा बढी गाविसको आवतजावतमा प्रत्यक्ष समस्या पु¥याएको छ । 


कमला नदीले बगाउदा एक जनाको मृत्यु
कमला नदीको बाढीमा बगेर मृत्यु भएका एक जनाको शव सिरहा प्रहरीले फेला पारेको छ । कमला नदीमा डुबेर बेपत्ता भएका महोत्तरीको बर्दिवासका २१ वर्षीय मनोज योगीको शव प्रहरीले सिरहाको बन्दीपुरदेखि करिब पाँच किलोमिटर उत्तरतर्फ कमला नदीको भंगालोमा सोमबार साँझ फेला पारेको हो । 

साउने सोमबारको अवसरमा मेला भर्न आइतबार साँझ सिरहाको उत्तरायणी जाने बेलामा योगीसहित महोत्तरीका चारजना युवा धनुषाको चिसापानीबाट कमला नदी पार गर्ने क्रममा कमला नदीमा बगेका थिए । अन्य तीनजना भने वेपत्ता रहेका र खोजी कार्य जारी रहेको छ । 

बगेका मध्ये योगीको शव कमला नदीको भंगालोमा सिराहा तर्फ फेला परेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिए ।