काठमाडौंको बानेश्वरमा ट्याक्सी जलाइयो
काठमाडौं, साउन । विप्लव नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दले देशभरको जनजीवन प्रभावित बनेको छ । बन्दका कारण सवारीसाधान चल्न सकेका छैनन् । सवारी साधन नचल्दा गन्तव्यमा पुग्ने सर्वसाधारण समस्यामा परेका छन् । भाडाका सवारी साधान नचले पनि, एम्बुलेन्स, प्रेस, निजी सवारी साधन भने निर्वाधरुपमा सञ्चालन भइरहका छन् । सडकमा बन्दकर्ताको उपस्थिति नरहेपनि चोक चोकमा सुरक्षाकर्मीको उल्लेख्य उपस्थिति रहेको छ । यसैबीच, बन्दकर्ताले काठमाडौंको नयाँ बानेश्वरमा ट्याक्सीमा आगजनी गरेका छन् ।
बानेश्वर मिनभवन उकालो नजिक बा १ ज ५१६२ नम्बरको ट्याक्सीमा आगजनी गरिएको हो । ट्याक्सी चढेका व्यक्तिले मिनभवन उकालो नजिक पुगेपछि पेट्रल छर्किएर आगोलगाइ भागेको प्रहरीले जनाएको छ । आगोले ट्याक्सी पूर्णरुपमा क्षतिग्रस्त भएको छ । सुकुम्बासी माथि राज्यले दमन गरेको भन्दै विप्लव माओवादीले नेपाल बन्दको आह्वान गरेको हो ।
यसैबीच, अज्ञात समुहले तनहुँमा ट्रकमाथि आगजनी गरेका छन् ।
भैरहवाबाट सिमेन्ट लिएर आएको ना ४ ख ३९१ नम्बरको ट्रक तनहुँको बन्दिपुर नगरपालिका वडा नं. ५ आँधिखोलामा जलाइएको हो । अज्ञात समूहले बिहान सवा पाँच बजे ट्रकमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक सुरेन्द्र बहादुर गुरुङले बताउनुभयो ।
सोही समुहले ना ५ ख ४१३ नं. को ट्रकमा पनि ढुँगामुडा प्रहार गरी क्षति पु¥याएका छन् । घटनाको कसैले जिम्मेवारी नलिए पनि विप्लव माओवादीको हात रहेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । यसैबीच, नेकपा माओवादी विप्लव समुहले आह्वान गरेको नेपाल बन्दका कारण पृथ्वीराजमार्ग भएर चल्ने कुनै पनि यातायातका साधान चलेका छैनन् भने तनहुँका बजार क्षेत्र पूर्ण रुपमा बन्द रहेको छ ।
यसैबीच, चितवनबाट काठमाडौंआउँदै गरेको एक मिनी ट्रकमासमेत बन्दकर्ताले आगजनी गरेको जनाइएको छ ।
१० साउन, २०७३ ।
Comments