काठमाडौं । शुक्रबारदेखि शुरु भएको अविश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिएका सांसदहरु भने आरोप–प्रत्यारोपमा उत्रिएका छन् । सत्तारुढ दलका सांसदहरुले प्रधानमन्त्री तथा सरकारको बचाउ गर्दै विपक्षी दलहरुविरुद्ध धारणा राखेका छन् भने विपक्षी दलका सांसदहरुले सरकारको आलोचना गरेका छन् ।
एमालेका सांसदहरुले ओली नेतृत्वको सरकार राष्ट्रवादी सरकार भएको भन्दै राष्ट्रवादी सरकारलाई हटाउने योजनाले मुलुक संकटमा पर्ने चेतावनी दिएका छन् । उनीहरुले भारतीय नाकाबन्दी समेत ओली नेतृत्वको सरकारकै कारण खुलेकोसमेत एमाले सांसदहरुले दाबी गरे । कांग्रेस, माओवादी र मधेसवादी दलका सांसदहरुले भने सरकारले मधेसी, जनजाति, तथा उत्पीडित समुदायको मागलाई बेवास्ता गर्दै अघि बढेको आरोप लगाए ।
शनिवारको छलफलमा भाग लिँदै एमाले बरिष्ट नेता माधवकुमार नेपालले संविधान कार्यान्वयनका लागि राष्ट्रिय सहिमतिको सरकार आवश्यक भएकामा फेरि पनि बुहमतीय सरकार निर्माणतर्फ लाग्नु बिडम्बनापूर्ण भएको बताए । उनले आफ्नो पार्टीदेखि सबै राजनीतिक दलहरु गुटबन्दीको शिकार भएको उनको आरोप थियो । सरकारसमेत पार्टीले चलाएको नभई गुटले चलाएको नेता नेपालको भनाइ थियो ।
यस्तै, नेकपा (एमाले)का वामदेव गौतमले माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउन आफूले सहमति गरेको समेत बताए । तर हतार गरेर प्रचण्डले कांग्रेससँग गठबन्धन कायम गरेको उनको आशय थियो । प्रचण्ड आफ्नो घनिष्ट मित्र समेत रहेको चर्चा गर्दै गौतमले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन सिलिगुडीदेखि रोल्पासम्म आफूले पहल गरेको स्मरण गरे । आफ्ना पार्टीका प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आउन नदिन आफूले निकै प्रयत्न गरेको उनले बताए ।
युद्धमा नभएको आफ्नो पार्टीका कार्यकर्ता मारिँदा समेत जोखिम मोलेर माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन आफूले प्रयत्न गरेको बताए । अझै पनि सहमतिमै अघि बढ्न सकिने पनि उनले औंल्याए । ‘केपी ओलीलाई हटाएर प्रचण्डलाई प्रधानमन्त्री बन्ने कुरा प्रमुख हो भने त्यो पनि ढिलोचाँडो लागू हुन्थ्यो’, गौतमले भने, ‘प्रचण्डलाई प्रधानमन्त्री बनाउन मैले नै सहमति गरेको थिएँ ।’
गौतमले प्रचण्ड आफ्नो घनिष्ट मित्र भएको उल्लेख गर्दै विगतमा एकले अर्कोलाई उपयोग नगर्ने सहमति समेत भएको खुलासा गरे । आफूले सहमति पालना गर्दा गर्दै प्रचण्डले मालेका कार्यकर्तालाई माओवादी बनाएको भन्दै गौतमले विगतसमेत कोट्याए । प्रचण्डसँगको आफ्नो घनिष्टताकै कारण पछिल्लो पटक एमाले माओवादी समिकरणमा सरकार बनेको उनको भनाइ थियो ।
नेपाली काँग्रेसका सांसद डा मीनेन्द्र रिजालले मधेसीलाई विदेशी देखेर राष्ट्रभक्ति हुन नसक्ने भन्दै प्रधानमन्त्रीको आलोचना गरे । मधेसीलाई विदेशी भनेर मात्रै राष्ट्रभक्ति हुन नसक्ने कुरा सरकारमा रहेका राजनीतिक दलले बुझ्न आवश्यक रहेको रिजालको भनाइ थियो ।
नेकपा (माओवादी केन्द्र)का सांसद तथा अधिवक्ता रामनारायण बिडारीले पूर्व सभामुख सुभाष नेम्वाङको आलोचना गरे । नेम्वाङले ब्यवस्थापिका संसदमा मन्द विष छरेको समेत आरोप लगाए । संविधानको धारा २९८ बाट सरकार हटाउन सकिने तर नयाँ सरकार बनाउन नसकिने नेम्वाङ्को तर्कले उनीमाथि नै शंका उत्पन्न भएको बिडारीको भनाइ थियो । उनले संविधानको धारा २९८ अनुसार नै नयाँ सरकार गठन गर्न सकिने दाबी गरे ।
यस्तै, माओवादीकै अर्का सांसद सुरेन्द्र कार्कीले पनि पूर्व सभामुख नेम्वाङ्को आलोचना गरे । संविधानको नायकका रुपमा उभ्याइएका पूर्व सभामुखले संविधानको अपव्याख्या गरेर सार्वभौम संसद्लाई तर्साउने काम गरेको उनको भनाइ थियो ।
शनिवार भएको छलफलमा सांसदहरु प्रभु साह, धर्मेन्द्र साह तेली, लोकमणि ढकाल र गङ्गा चौधरी, सत्तारुढ दल एमालेका डा राजन भट्टराई, पशुपति चौलागाईँ, नेकपा(माले)का अइन्द्रसुन्दर नेम्वाङ लगायतले अविश्वासको पक्ष र विपक्षमा धारणा राखेका थिए । ब्यवस्थापिका संसदमा अविश्वासको प्रस्तावमाथि छलफल आइतबार पुनः ११ बजेदेखि शुरु हुने सभामुख ओनसरी घर्तीले जानकारी दिइन् ।
९ साउन, २०७३ ।
Comments