समाचार

अमेरिकाको सपना देखाएर ३१ लाख ठग्ने अर्का एक जना पक्राउ

काठमाडौं । महानगरीय अपराध अनुसन्धान व्यूरोको टोलीले वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । व्यूरोको टोलीले अमेरिका, क्यानडा लगायतका देशमा पठाइदिन्छु भन्दै भन्दै ३१ लाख रुपैयाँ ठगी गरेको आरोपमा सिन्धुपाल्चोक मांखा–७ घर भएका तुलबहादुर तामाङ पक्राउ गरेको हो ।

जेभी नाम राखी नक्कली फेसबुक आइडी खोेलेर उनले विभिन्न व्यक्तिलाई ठगी गरेका थिए । उनले आफू अमेरीकाको पीआर प्राप्त व्यक्ति भएको र आफ्नो आमा क्यानडाको डाक्टर भएको भन्दै प्रलोभन मा पारी ठगी गरिरहेका थिए ।उनले लेवनानबाट हालै फर्किएकी श्रृजना दोंगसँग फेसबुकमार्फत साथी बनी अमेरीका डिपेन्डेन्ट भिसामा लैजाने भनेर ९ लाख ठगी गरेको आरोप छ । त्यस्तै, दोङका भाइ संजय र मिम लामालाई क्यानडा पठाउने भनेर उनले थप १३ लाख रुपैयाँसमेत असेलेको बताइएको छ ।

त्यस्तै, साईप्रसमा रोजगारीमा रहेकी कुसुम लामालाई फेसबुकमार्फत साथी बनाएर क्यानडासँगै लैजाने प्रलोभन देखाएर ९ लाख रुपैयाँ ठगी गरेको अनुसन्धानबाट खुलेको छ ।

केही समय पहिले पनि व्यूरोको टोलीले रोजगारीका लागि अमेरिका, क्यानाडा र जापान पठाइदिने भन्दै ठगी गरेको आरोपमा सिन्धुपाल्चोक चौतारा–८ का पुण्यप्रसाद दङ्गाललाई पक्राउ गरेको थियो । अभियुक्त दङगाललाई अरवीन्द योग आश्रम थानकोटमा लुकिरहेका अवस्थामा नियन्त्रणमा लिएको थियो ।

पछिल्लो समय सिन्धुपाल्चोक लगायत भूकम्पपीडित १४ वटा जिल्लाका मानिसहरुले आफूहरु ठगीएको भन्दै धमाधम उजुरी गर्नका लागि जाहेरी दिन थालेपछि यी जिल्लामा ठगी गर्ने गिरोह नै रहेको अनुसन्धान महाशाखाको तर्क छ ।

अनुसन्धान महाशाखाले वैदेशिक रोजगारीको प्रलोभन देखाउनेहरुसँग सजग रहन समेत स्थानीयलाई सचेत गराएको छ ।

६ साउन, २०७३ ।