काठमाडौं । विहीबार दिउँसो संसद बैठक बस्दैछ । सरकारविरुद्ध संसद् सचिवालयमा अविश्वास प्रस्तावको सूचना दर्ता भएपछि बढेको राजनीतिक ध्रुवीकरण अन्त्य गर्न दलहरू असफल भएका छन् । संसद्को कार्यसूची कसरी अगाडि बढाउने भन्नेमा दलहरू पूर्ववत अडानमा छन् ।
बजेटका आश्रित विधेयक अगाडि बढाउने कि प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव भन्ने विवाद बढेपछि संसदमा हुन सक्ने अवरोध नियन्त्रणका लागि मार्सल (मर्यादा पालक) को संख्या बढाइएको छ। सत्ताधारी दल एमालेले आश्रित विधेयक अगाडि बढाए संसद चल्न नदिने तयारी गरेका छ भने अविश्वासको प्रस्ताव दर्ता गराएका माओवादी केन्द्र र नेपाली कांग्रेसलगायतले अविश्वासको प्रस्ताव अगाडि बढाउनु पर्ने अडानमा छन्।
दलबीचको विवादमा संसदभित्र अप्रिय घटना हुन नदिन प्रहरीले संसद सचिवालयसँगको समन्वयमा कसिलो सुरक्षा योजना बनाउँदै मार्सलको संख्या थपेको हो। स्रोतका अनुसार अहिले संसदमा प्रहरी एसपीको कमान्डमा ९१ जना मार्सल खटिँदैआएका छन्। बिहीबार सुरु हुने संसद अधिवेशनका लागि तयारी अवस्थामा थप ३० जना मार्सल खटाइएको प्रधान कार्यालय स्रोतले जानकारी दियो ।
यसैबीच, सत्तारुढ दल एमालेले बजेटका पूरक विधेयक टुङ्गो नलगाई अविश्वासको प्रस्तावमाथि छलफल शुरु गरे संसद् अवरुद्ध गर्ने निर्णय गरेको छ । संसद् भवनमा बसेको एमाले संसदीय दलको बैठकले संसदको कार्यसूचीमा आइसकेका बजेटसम्बन्धी पुरक विधेयकमाथि पहिला छलफल गर्नुपर्ने निर्णय गरेको हो । संसदीय दलले संसदीय अभ्यास र परम्पराअनुसार पहिला दर्ता भएका र कार्यसूचीमा आएका विधेयक पहिला पारित गर्नुपर्ने व्यवस्थाअनुसार काम गर्न माग गरेको छ । बजेटका पुरक विधेयकको टुङ्गो लागेपछि मात्रै अविश्वासको प्रस्तावमाथि छलफल नगरे संसद अवरुद्ध पार्ने निर्णय एमालेले गरेको छ । माओवादी केन्द्र र कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दर्ता गराएको अविश्वासको प्रस्तावमाथि बिहिबार छलफल गराउने तयारी संसद सचिवालयले गरेको छ ।
नेकपा माओवादी केन्द्रले संसद्मा दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ । सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकले संसदमा कांग्रेस र माओवादी मिलेर दर्ता गराएको अविश्वासको प्रस्तावको पक्ष्ँमा मतदान गर्न निर्देशन दिएको हो । संसदीय दलको बैठकले बिहिबार बस्ने संसदको बैठकमा अनिवार्य उपस्थित हुन समेत सांसदहरुलाई निर्देशन दिएको छ ।
प्रधानमन्त्री केपी ओली नेतृत्वको वर्तमान सरकारविरुद्ध माओवादी र कांग्रेस मिलेर अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । अविश्वासको प्रस्तावमाथि बिहीबार बस्ने संसद बैठकमा छलफल शुरु हुदैछ । बैठकले अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्नका लागि संसदमा रहेका अन्य दललाई समेत आह्वान गर्ने निर्णय गरेको छ ।
६ साउन, २०७३ ।
Comments