समाचार

'गुरु पूर्णिमा' गुरुप्रति श्रद्धाभाव प्रकट

काठमाडौं । आज गुरु पूर्णिमा । अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ ।

वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिकग्रन्थहरु रचना गरेका छन् । संस्कृत शव्द 'गुरु'को शाब्दिक अर्थ अन्धकारलाई हटाएर प्रकाश छर्ने हुन्छ । त्यसैले ज्ञान प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले विभिन्न मिष्ठान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रहि आएको छ । गुरु पूर्णिमाका अवसरमा विभिन्न विद्यालय, संगीत पाठशाला, गुरुकुलल, वेदविद्याआश्रमलगायतमा गुरुको सम्मानमा विभिन्न कार्यक्रमको आयोजना गरिएका छन् ।