काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना घुस्याहा अधिकृतलाई सेवाग्राहीसँग घुस लिदैगर्दा पक्राउ गरेको छ । नेपाल कृषि अनुसन्धान केन्द्र खजुरा बाँकेमा कार्यरत प्राविधिक अधिकृत वीरेन्द्रकुमार यादवलाई घुस लिँदालिँदै अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।
आयोगको विशेष टोलीले प्राविधिक अधिकृत यादवलाई दुई लाख ५० हजार रुपैयाँ घुस रकमसहित बाँके खजुराबाटै पक्राउ गरेको हो ।
आयोगका प्रवक्ता कृष्णहरि पुस्करका अनुसार कृषि अनुसन्धान केन्द्र, खजुरा बाँके र कोसेबाली अनुसन्धान केन्द्र खजुरा, बाँकेको हाताभित्र निर्माण हुन लागेको डिप बोरिङ र विद्युत लाइन विस्तार कार्य सम्पन्न गरी बिल भुक्तानीका लागि निवेदन दिँदा प्राविधिक अधिकृत यादवले सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा पुगेको आयोगको टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका यादवको अनुसन्धान कार्य जारी रहेको आयोगले जनाएको छ ।
३१ असार, २०७३ ।
Comments