समाचार

एउटा अजम्बरी गीतको कथा

-ससाङ् लामा
न्यूयोर्क

‘नौ लाख तारा उदाए...’ गीतको कुरा गुन्जिनसाथ, संगीतप्रेमीहरु स्वर्गीय अम्बर गुरुङलाई सम्झन्छन् । यस् गीतका शब्द्–रचनाकार स्व. कवी अगमसीँ गिरीको चर्चा बिरलै भएको पाएको छु । अगमले लेखेको यो गीतमा स्व. अम्बरले संगीत भरेर आफैले गाए । बिभिन्न मुलुकमा बस्ने नेपाली भाषी माझ यो गीत अत्यन्तै लोकप्रिय भयो । यस्तो चर्चित गीतको चर्चाको पछाडि कुनै न कुनै पृष्ठभूमि त होला नि भनेर खोजीनीति गर्दै जाँदा यस गीतका बारे लेखिएका लेख, टिपोट, समिक्षा आदि सबै अंग्रेजी भाषामा फेला प¥यो । एउटा कालजयी नेपाली गीतको नेपालीमा बर्णन नहुनु बिडम्बना होइन त ? ५०÷६० का दशकहरुमा प्रवासमा, खासगरी दार्जिलिङमा बसोबास गर्ने प्रवासी नेपालीहरुले आफ्नो नेपालीत्व, चिनारी, पहिचान खोजिरहेका थिए । त्यही जनभावनाको प्रतिबिम्ब नै ‘नौ लाख तारा उदायो...’ गीत थियो । सुसुप्त अवस्थामा रहेको उनारुको आकाक्षालाई यो गीतले उकेरा लगायो । भारत अङ्ग्रेजहरुबाट स्वतन्त्र भएपछि पनि प्रवासी नेपालीहरुको अवस्थामा कुनै सुधार आएन । मानवअधिकार, भाषा, संस्कृति जस्ता लोकतन्त्रका न्युनतम आधारहरुलाई लिएर संघर्षरत भै रहनु प¥यो ।
नागरिक अधिकारका मागहरु जोडतोडले उठ्न थाले । नेपाली संगीतको पनि विकास हुँदै थियो । जनताको संवेदनाको संवाहक बन्न नेपाली संगीत सक्षम भइसकेको थियो । ६० को दशकताका एकजना स्कूले मास्टर, अगमसीँ गिरीले एउटा गीत लेखेर स्व. अम्बर गुरुङलाई दिएका थिए, जसले गोपाल योञ्जन, कर्म योञ्जन, शरण प्रधान, रनजित गजमेर र अन्यलाई मिलाएर एउटा संगीत एकेडेमी खोलेका थिए । आफ्ना संगीत मण्डलीसित मिलेर स्व. गुरुङले त्यस गीतमा संगीत भरे । प्रवासी नेपालीहरुको परिचयलाई नै लिएर रचिएको गीतको बोलले नेपालीहरुको मुटु छोयो । जब स्व. गुरुङले त्यो गीत गाए, गीतले छोटो समयमै लोकप्रियताको शिखर चुम्यो । त्यसपछि त प्रत्येक सांगीतिक प्रतियोगीताहरुमा स्व. गुरुङले निरनतर पदक पाउन थाले । उनको असाधारण प्रतिभाले गर्दा अरु कलाकारहरुले पदकै भेट्टाउन छोडे । उनलाई सांगीतिक प्रतियोगीतामा भाग लिनबाट नै बन्चित गराइयो । केवल अतिथि कलाकारको रुपमा सहभागी हुन पाउने अनुमति दिइयो । त्यसैबेला कालेबुङमा भएको एउटा संगीत समारोह पश्चात् एकजना पुलिस अफिसर स्व. गुरुङको छेउ आइ उनको गीतको खुब तारिफ गर्दै भनेछन : ‘ल, भाई ! यो गीतलाई प्रत्येक नेपालीको घर दैलोमा पु¥याउनु पर्छ । रेकर्डिङ गर्न लाग्ने खर्च म बेहोर्छु । उनी थिए सच्चिन्द्र मणी गुरुङ !
दार्जिलिङमा त्यतिखेर रेकर्डिङ गर्ने सुविधा नै थिएन । कलकतै जानुपथ्र्याे । कलकते रेकर्डिङ कम्पनीहरुले उनलाई डेढ बर्षसम्म झुलाए थिए । अन्त्यमा हिन्दूस्तान रेकर्डिङ कम्पनी, शर्तसहित रेकर्ड गर्न राजी भयो । शर्त बमोजिम पहिलो ५०० प्रति स्व. गुरुङले बिकाउनु पर्ने, ५०० रुपैया धरौटी राख्नुपर्ने र स्टुडियोका संगीतकारहरुको खर्च व्यहोर्नु पर्ने । सच्चिन्द्रमणी गुरुङ त्यस कामका लागि दिलो ज्यान दिएर लागेका हुनाले उनले पैसा सरसपाट गरेर अम्बर र रनजितलाई कलकता पठाए ।
धेरैं कोशिस गरेर बल्ल बल्ल जुरेको मौका गुम्ला भनेर रेकर्डिङ हुनु एक हप्ता अगाडि नै स्व. गुरुङ र रनजित कलकता पुगे । १९६१ मा जब यो गीत रेकर्ड भयो, नेपाली सांगीतिक इतिहासको लागि यो अविष्मरणीय क्षण थियो । २३ वर्षे अल्लारे ठिटो अम्बरले यो गीत गाउँदा रनजित गजमेरले तबलामा साथ दिएका थिए भने अन्य संगीतकारहरुमा त्यही स्टुडियोका स्थानीय बंगाली संगीतकारहरु थिए । रेकर्डिङ पश्चात् उनलाई साथदिने करीब १५ बंगाली संगीतकारहरुले उनको गायनको तारिफ गरेको संस्मरण गर्दै स्व. अम्बर गुरुङले भनेका थिए – ‘पहिलो गीत रिकर्ड भएकोमा म खुशी थिएँ । तर त्यस्तो कुनै खुशीयाली पार्टी हामीले मनाएनौँ । होटल फर्केर साधारण खाना खायौँ । ठूलै भारी बिसाएको जस्तो भाको थियो मलाई त्यतिबेला ।’
रेकर्डिङ कम्पनी र सबैलाई चकित हुने कुरा के भैदियो भने, पहिलो ५०० प्रति रेकर्ड त एक हप्तामै तुरेको थियो । कम्पनिले धरौटी पनि तुरुन्त फिर्ता दियो । यो घटना अगमसीं, अम्बर र सच्चिन्द्रको मात्र सांगीतिक जित नभएर सम्पूर्ण दार्जिलिङ्गे, प्रवासी नेपाली र संसारैमा भएका नेपालीले गौरव गर्ने विषय थियो । यस गीतले दार्जिलिङ्गेहरुको सामुहिकता झल्काएको थियो । कारण गीत उनीहरुकै थियो ।
रेकर्डिङ कम्पनीलाई अरु २००० प्रति बनाउन अर्डर दिइयो । अर्डर बमोजिम तिनले समयमा रेकर्ड निकाल्न सकेन र एक महिनाको समय माग्यो । तर त्यो एक महिनाभित्र अनपेक्षित घटना घट्यो, जसले गर्दा स्व. गुरुङको जीवनीमा ठूलो परिवर्तन ल्यायो । नौ लाख तारा उदायो... गीतमै मात्र सीमित नभएर दार्जिलिङको सेरोफेरोमा राजनीतिक जागरणको कारक तत्व बन्न पुगेको थियो ।
भारतका प्रवासी नेपालीको जीवनगाथा उनिएको त्यो गीतले अन्तरराष्ट्रिय गतिबिधिलाई बढावा दिएको निर्णयसहित भारत सरकारले त्यस गीतको प्रसारणमा रोक लगायो । स्व. अम्बर गुरुङलाई हतोत्साह गर्न भारतीय गुप्तचर उनको निगरानी गर्न थाले । पश्चिम बंगालको ‘लोक मनोरन्जन शाखा’ संस्थामा कार्यरत गुरुङले आफ्नो पदबाट राजीनामा दिन वाध्य हुनुप¥यो । चार नानीसहितको परिवारलाई पाल्न स्कूल र अन्य समारोहहरुमा फ्रिल्यान्सरको रुपमा काम गर्नुप¥यो अम्बरले ।
राजा महेन्द्र यि घटनालाई ध्यानपूर्वक नियालिरहेका थिए । कवी हृदयका महेन्द्रलाई गीतले बेस्सरी छोयो र उनले स्व. अम्बरलाई दोहो¥याएर नेपाल बोलाए । नेपालैमा बसेर संगीत साधना गर्ने हिसाबले सन १९६४ मा स्व. अम्बर नेपालमा बसाइँ सरे । उनी भन्छन : ‘नौ लाख तारा उदायो... गीतले नै  मलाई नेपाल आउने अवसर दिलायो । यो गीत यति लोकप्रिय हुन्छ भन्ने हामीले सोचेकै थिएनौँ । एकदिन घरैमा बसेर रेडियो सुन्दै थिएँ । एउटा गीतलाई फर्माइस गर्नेहरुको लामो नामावली पढिन्दै थियो । भरे भन्दा त्यो त मैले गाएको ‘नौ लाख तारा उदायो...’ पो रहेछ । जब यो गीत रेकर्ड भएको थियो, त्यतिबेला हाम्रो कुनै ब्यवसायिक आकांक्ष थिएन । गीत संगीतलाई ब्यक्तिगत शोखको रुपमा लिएका थियौँ । सांगीतिक क्षेत्रलाई नै पेशा बनाउन सकिन्छ भन्ने कुनै सोचै थिएन ।
यो गीतलाई रेकर्ड गर्न सहयोग गर्ने सच्चिन्द्रमणी गुरुङ, नेपाली भावनालाई यस्तो मिठो शब्द–लहरिमा उन्ने, गीतका रचयीता स्व अगमसीं गिरीलाई जश दिँदै स्व. अम्बर गुरुङ भनेका थिए ‘गीतको रेकर्डिङ भैसकेपछि गिरी दाज्यूले मलाई अंगालोमा बाँधेर भनेका थिए – भाई ! तिमीले ऐतिहासिक काम ग¥यौ ! म कहिल्यै भुल्ने छुइन !’ भारतमा नेपाली भाषाले मान्यता प्राप्त गरेपछि मात्र ‘नौ लाख तारा उदायो...’ गीतमाथि लागेको प्रतिबन्ध हटेको थियो । यो गीतको रेकर्डिङ पश्चात् यसले दार्जिलिङका अन्य कलाकारहरुलाई पनि मार्ग निर्देश ग¥यो । अम्बर गुरुङको सफलताले दार्जिलिङमा रहेका अन्य कलाकारहरु (जस्तै शरण प्रधान, अरुणा लामा, गोपाल योञ्जनहरुलाई आफ्ना गीतहरु रेकर्ड गर्ने प्रेरणा र हौसला मिल्यो ।
आज म यि हरफहरु लेखिरहँदा यस कालजयी र अजम्बरी गीतका गायक अम्बर गुरुङ हामी माझ हुनुहुन्न । नेपाली सांगीतिक क्षेत्रका ःबभकतचय अर्थपूर्ण जीवन बाँचेर आज उहाँ विश्वसामु परिचित हुनुहुन्छ । तर, स्व.अम्बर गुरुङलाई उनको ‘नौ लाख तारा उदायो... ले उनको नाम जस्तै अमर बनाएको छ भन्ने कुरामा कुनै बादविवाद छैन । गीत, संगीत कति सशक्त हुँदो रहेछ  भन्ने कुरा स्व. अम्बर गुरुङले प्रमाणित गरेर देखाउनु भएको छ । समयको फेरोसँगै परिबेस फेरिए पनि यो गीत अझै पनि उतिकै सान्दर्भिक छ । यही गीतको दुई हरफ राख्दै उहाँप्रति हार्दिक श्रद्धान्जिली अर्पण गर्न चाहन्छु ।

नसम्झ  आज  नेपाली  सन्चोले  यहाँँ  बाँचेको
काँडाकै माझमा पहाडी फुल, छैन र कहाँँ हाँसेको

lama_sasang@yahoo.com