समाचार

संगीतकार गुरुङको आजै अन्त्येष्टि गरिने

काठमाडौँ । आज विहान  निधन भएका वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको हिन्दू र बौद्ध दुवै विधिद्वारा अन्तिम संस्कार गरिने भएको छ ।

अन्तिम श्रद्धाञ्जलीका लागि स्वर्गीय गुरुङको पार्थिव शरीर दिनभर प्रज्ञा प्रतिष्ठानमा राखिनेछ । अपराह्न ३ बजेपछि उनको पशुपति आर्याघाटमा पु¥याएर अन्तिम संस्कार गरिने उनका माहिला छोरा राजुले जानकारी दिए ।

अहिले ग्रान्डी अस्पतालमा सङ्गीतज्ञ गुरुङलाई अन्तिम श्रद्धाञ्जलि दिन विभिन्न क्षेत्रका व्यक्ति पुगेका थिए । अहिले प्रज्ञा प्रतिष्ठानमा श्रद्धाञ्जली दिनेको भीड लागेको छ ।

भोजन नली, मधुमेह, रक्तचाप लगायत समस्याका कारण गुरुङको निधन भएको हो । उनका गत हप्तादेखि स्थानीय ग्रान्डी अस्पतालमा उपचारत थिए। यसअघि उनको भारतको मेदान्त अस्पतालमा उपचार भएको थियो ।

विसं १९९४ मा भारतको दार्जिलिङमा उनको जन्म भएको थियो । प्रवासमा जन्मेर नेपाल आई उनले नेपाली गीतसङ्गीतमा योगदान गरे । उनको पहिलो गीत ‘नौलाख तारा उदाए‘’ विसं २०१८ मा कोलकातामा रेकर्ड भएको थियो ।

विसं २०२४ मा नेपाल आउनुभएका गुरुङले २०२६ देखि नेपाल प्रज्ञा– प्रतिष्ठानमा सङ्गीत निर्देशकका रुपमा काम गरेको थियो ।

उनी २०२७ सालमा गोरखा दक्षिण बाहुले विभूषित भए। ‘मेरो देश’, ‘सपना कतिपय’, ‘मनको बाँध’, ‘जीवन रेखा’ आदि नेपाली चलचित्रलाई उनले सङ्गीतबद्ध गरेका थिए । त्यस्तै ‘फर्केर हेर्दा’, ‘जब घाम लाग्छ’, ‘पहाड चिच्याइरहेछ’ जस्ता नाटक र गीति नाटक ‘मालती मङ्गले’ र ‘मुनामदन’लगायतमा समेत उनले सङ्गीत भरेको नेपाली गीतसङ्गीतका अध्येता प्रकाश सायमीले बताए ।

त्यसैगरी उनले‘रातो र चन्द्रसूर्य’, ‘नौ लाख तारा उदाए‘, ‘म अम्बर हुँ, तिमी धर्ती‘’ लगायत करिब ५०० गीतमा सङ्गीत भरेका छन् ।  उहाँ गीतकार, सङ्गीतकार र गायक तीनै विधामा पोख्त थिए।