समाचार

रहेनन् वरिष्ठ संगीतकार गुरुङ

काठमाडौं । वरिष्ठ संगीतकार अम्बर गुरुङको ७९ वर्षको उमेरमा निधन भएको छ । राष्ट्रिय गानका संगीतकार समेत रहेका गुरुङको उपचारका क्रममा मंगलबार विहान २ बजेर ३७ मिनेटमा ग्रान्डी अस्पतालमा निधन भएको हो । ब्लड प्रेसर घटेर अचानक बेहोस भएपछि गुरुङलाई अघिल्लो गत सोमबार अस्पताल भर्ना गरिएको थियो । उनी एस्पिरेसन, निमोनिया, पेट तथा अन्ननलीको रक्तस्राव (युजीआइ ब्लिडिङ), पार्किन्सोनिज्म, उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए ।

खानेकुरा सर्किएर खानाको नलीमा पुग्दा उनको श्वास प्रश्वासमा समस्या सुरु भएको थियो । र, आइतबार रातिबाट भेन्टिलेटरमा राखिएको थियो । दार्जिलिङको लालढिकीमा बाबु उजीरसिंह गुरुङ र आमा श्रीमती रेणुका गुरुङको कोखबाट  वि‍.सं १९९४ मा गुरुङको जन्म भएको थियो । गुरुङको पुर्ख्यौली घर गोरखा जिल्लाको रिसिङ हो।

राष्ट्रिय गानका संगीतकार गुरुङले पाँच सय भन्दा धेरै गीतमा संगीत भरिसकेका छन् । गायन तथा सँगीत सुरुवात वि.सं. २०१६ माघ कलकत्तावाट दुई गीत इम अम्बर हुँ र सम्हालेर राखबाट गीतिलेखन प्रारम्भ गरेका हुन्। सँगीतकार गुरुङले कोलकातामा पहिलोपटक सन् १९६१ मा अगमसिंह गिरीको 'नौ लाख तारा उदाए' बोलको गीत रेकर्ड गराएका थिए। गुरुङ ०५२ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको संगीत निर्देशक समेत भएका थिए । स्वर्गीय गुरुङका तीन छोरा र एक छोरी छन् ।