समाचार

संगीतकार गुरुङको निधन निराधार

काठमाडौं । मृत्युसँग जुधिरहेका वरिष्ठ संगीतकार अम्बर गुरुङको स्वास्थ्य अवस्था स्थिर रहेको ग्राण्डी अस्पतालले जनाएको छ ।  उपचाररत गुरुङको निधन भएको खबर सामाजिक सञ्जालमा फैलिएपछि उनको निधन नभएको भन्दै यस्ता निराधार तथा अफवाह नफैलाउन अस्पताल र परिवारसका सदस्यहरुले सञ्चारमाध्यमलाई आग्रह समेत गरेका छन् ।

संगीतकार गुरुङको अवस्था गम्भीर बनेपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि संगीतकार गुरुङलाई ६ दिनअघि काठमाडौंको ग्राण्डी अस्पतालमा भर्ना गरिएको हो । स्वास्थ्यमा थप समस्या देखिएपछि शुक्रबारबाट भेन्टिलेटरमा राखेर उपचार गरिएको छ । उनको स्वास्थ्य अवस्था स्थिर रहेको छ । संगीतकार गुरुङ भने बेहोस अवस्थामा रहेका छन् । श्वासप्रश्वाससँगै उनलाई उच्च रक्तचाप, मधुमेह र पार्किन्सोनिजमको समस्या रहेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।

केही समय अघि उनी भारतको मेदान्त अस्पतालमा उपचार गरी उनी चैत १७ गते नेपाल फर्किएका थिए । राष्ट्रिय गानका संगीतकार गुरुङले पाँच सय भन्दा धेरै गीतमा संगीत भरिसकेका छन् ।

यसैबीच, संगीतकार गुरुङको स्वास्थ्य अवस्थामा सुधार नआएपछि उनलाई भेट्न आइतबार प्रधानमन्त्री केपी शर्मा ओली धापासीस्थित ग्रान्डी  अस्पताल पुगेका थिए । त्यैस्तै, सूचना तथा सञ्चारमन्त्री शेरधन राईले आइतबार नै अस्पताल पुगेका थिए । संगीतकार गुरुङको स्वास्थय अवस्थाबारे जानकारी लिन साहित्यकार, सङ्गीतकर्मी, शुभचिन्तकहरु अस्पताल पुगेका थिए ।